अविनाश चौधरी
धनगढी, फागुन १२ गते । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, साना बच्चा भएका महिला लगायत अन्य समूहका व्यक्तिले लाइन नलागी सहज रुपमा मतदान गर्न पाउने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन कार्यालयले आज पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै फरक र अन्य समूहका व्यक्तिले सहज रुपमा मतदान गर्न पाउने जनाएको हो । महिला र पुरुषले भने लाइन लागेर मतदान गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ ।
फरक र अन्य समूहका मतदाताले सहज रुपमा मतदान गर्न पाउने व्यवस्था मिलाउनका लागि सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिइएको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिनुभयो ।
मतदाताहरुले सुरुमा पहिलो हुने निर्वाचित हुने मतपत्रमा मत सङ्केत गरेर एक नम्बर लेखिएको मत पेटिकामा मतपत्र हाल्ने हाँले बताउनुभयो । पहिलो हुने निर्वाचित हुने निर्वाचित हुने मतपत्र सेतो कागजमा रातो अक्षरको रहेको छ । पहिलो हुने निर्वाचित हुने मतपत्रमा छाप लगाइसके पछि मतदाताले समानुपातिक मतपत्रमा आफूलाई मन पर्ने पार्टीमा मत सङ्केत गरेर २ नम्बर लेखिएको मतपेटिकामा मतपत्र खसाल्ने जनाइएको छ ।
समानुपातिक मतपत्रमा सेतो कागजमा कालो अक्षरले लेखिएको छ । पहिलो हुने निर्वाचित हुने मतपत्रमा लगाएकोे छापले उम्मेदवारलाई र समानुपातिक मतपत्रमा लगाइएको छापले राजनीतिक दललाई भोट जानेछ ।
यसैबिच, निर्वाचनको तयारी ९५ प्रतिशत पूरा भएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । निर्वाचन कार्यालयले सरकारदेखि सरकार (जीटुजी) प्रक्रिया अन्तर्गत ३७ प्रकारका र निर्वाचन आयोगबाट प्राप्त १४ प्रकार गरी ५१ प्रकारका निर्वाचन सामग्रीका साथ कर्मचारीलाई खटाएको छ । मतदाता पहिचानका लागि रङ्गीन फोटोसहितको मतदाता नामावली मतदान केन्द्रहरुमा पठाइएको छ ।
निर्वाचन गराउन खटिएका कर्मचारीले फागुन १८ र १९ गते सर्वदलीय सर्वपक्षीय भेला गर्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ । अहिले निर्वाचन कार्यालयले प्रदेशको ७६४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम पनि जारी राखेको छ । निर्वाचन गराउनका लागि १५ हजार कर्मचारी खटेका छन् । सुदूरपश्चिम प्रदेशमा दुई हजार १९९ मतदान केन्द्र र एक हजार १७६ मतदान स्थल रहेको छ ।
१६ वटै निर्वाचन क्षेत्रमा गरी यस प्रदेशमा २४ वटा राजनीतिक दलबाट २०६ जना उम्मेदवार छन् । त्यस्तै, २८ जना स्वतन्त्र रुपमा चुनाव लडिरहेका छन् । यसैबिच, निर्वाचन अधिकारी भट्टले आचारसंहिता सबैलाई लागेकाले त्यसको पालना गर्न आग्रह गर्नु भएको छ ।