गजेन्द्र गुरुङ
खजुरा, फागुन १२ गते । फागुन २१ गते हुन लागेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी बाँके र बर्दियामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ ।
महिला, कानुन र विकास मञ्च काठमाडौँको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके बर्दियामा निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा सुरु गरेको हो ।
बाँके र बर्दियामा विशेषगरी थारु, मधेशी, मुस्लिम, सीमान्तकृत, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका महिलाहरु र १८ वर्ष पुगेका युवा युवतीलाई मतदाता शिक्षा दिन लागिएको हो । मङ्गलबार बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ मा मधेशी समुदायका महिलालाई मतदाता शिक्षाबारे अभिमुखीकरण गरिएको छ ।
अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भूमिका मतपत्रबारे जानकारी, मतदान गर्न जाँदा ध्यान दिनुपर्ने कुरा लगायतका बारेमा अधिवक्ता विश्वजीत तिवारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी महिलालाई मतदानबारे अभ्यासका लागि नमुना मतदानसमेत गराइएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले मधेशी समुदायका महिलाहरु प्रायः अशिक्षित भएकाले मतपत्रमा छाप लगाउने ज्ञान नभएकाले मत बदर बढी हुने गरेको बताउनुभयो । उहाँले मताधिकारको प्रयोग गरी निर्वाचनमा सहभागी हुन आग्रह गर्दै मतदानबारे जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।
नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराइएको छ । प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको संस्थाका कार्यकारी निर्देशक राकेश मिश्रले बताउनुभयो । उहाँका अनुसार अभिमुखीकरणमा करिब ७० जना महिलाको सहभागिता रहेको थियो ।