• १३ फागुन २०८२, बुधबार

सङ्घियता समाप्त पार्ने षडयन्त्र हुँदैछ : अध्यक्ष उपेन्द्र यादव

blog

चुनावी सभालाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ।

सिराज खान

नेपालगन्ज, फागुन १२ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले एकपटक फेरी सङ्घियता समाप्त पार्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । 

बाँकेको कम्दीमा मङ्गलबार जनता समाजवादी पार्टी बाँकेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यदी सङ्घियतामाथि प्रहार गरियो र समाप्त पार्ने कुचेष्टा गरियो भने जनता समाजवादी पार्टीले ठुलो आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले सङ्घियता विरोधीहरूको पहिचान गरेर उनिहरूको प्रयास असफल पार्न सबैलाई आग्रह समेत गर्नुभयो । 

संविधान सशोधन गरेर प्रदेशहरूलाई स्वायत्त अधिकार नदिएसम्म सङ्घियता सफल नहुने जनाउँदै जसङ्ख्याको आधारमा सबैलाई हरेक क्षेत्रमा सहभागिता दिनुपर्ने माग उहाँले गर्नुभयो । 

नेपालको मधेश तराई र पहाडमा बसोवास गर्ने सबैलाई सामाजिक र राजनितिक तथा आर्थिक रूपमा अगाडि बढाउनका लागि पनि संविधान संशोधन अपरिहार्य रहेको अध्यक्ष यादवले बताउनुभयो । उहाँले गत ३५ वर्षदेखि पालैपालो देश चलाउनेहरूको गलत क्रियाक्लापले गर्दानै आज जनतामा आक्रोश र असन्तुष्टि देखिएको प्रष्ट पार्नुभयो । हालसम्म पालैपालो सत्ता चलाउनेहरूले गरेको भ्रष्टाचार, अनियमितता र मनपरिका कारण नै देश अहिले बर्बाद भएको अध्यक्ष यादवको दाबी थियो । 

उहाँले भन्नुभयो, “सोही कारणले गर्दा भदौ २३ गतेको जेनजी आन्दोलन भएको थियो । सो आन्दोलनलाई गोलीले दबाउन खोज्दा दुई तिहाइको दम्भ ढलेको र प्रधानमन्त्री र मन्त्रीहरू हेलिकोप्टर चढेर भाग्नुपरेको थियोे ।”

विगतमा कांग्रेस र कम्युनिस्टहरूको सरकारकै कारण देशमा ठुला ठुला भ्रष्टाचारका काण्डहरू भएको र दर्जनौ ठुला उद्योग तथा कारखानाहरू धराशायी भएर हजारौं युवा बेरोजगार भएको आरोप पनि अध्यक्ष यादवले लगाउनुभयो ।   

जनताका लागि काम गर्नुको सट्टा आफ्नो दल र कार्यकर्ताका लागि मात्रै काम गरेकाहरूले अहिले जनताका अगाडि आएर फेरि कसरी मत मागिरहेका छन् ? उनीहरूलाई प्रश्न गर्ने बेला आएको उहाँले सो अवसरमा भन्नुभयो । 

सो कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्यहरू इश्तियाक अहमद शाह, अम्बिका काफ्ले र बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दीन राई र क्षेत्र नम्बर ३ का उम्मेदवार सुर्यलाल यादवले पनि अधिकार र पहिचानका साथै सङ्घियता जोगाउनका लागि जनता समाजवादी पार्टी नेपालका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।