केशवराज भट्ट
वासुलिङ (बैतडी), असोज २८ गते । असोज–कात्तिक लागेसँगै सुदूरपश्चिमका गाउँघरमा खेतबारीमा चहलपहल बढेको छ । धान पाक्न थालेपछि किसानहरू धान काट्ने, ‘‘गाज्यौ’’ खर जम्मा गर्ने र गहुँ छर्ने तयारीमा व्यस्तहुन थालेका छन् ।
गाउँघरका मानिसहरू धान थन्क्याउन, खेतबारी खनजोत गर्न, मकै थन्क्याउन र खेतमा नयाँ बिउ राख्ने तयारीमा जुटेका छन् । यसै समयमा बाहिर रहेका परिवारका सदस्यहरू पनि घर फर्किने भएकाले गाउँघरमा रौनक झन् बढेको सूर्नाया ७ का गणेश कुँवरले बताउनुभयो ।
‘‘गाज्यौ खर’’ काट्ने काम पनि वर्षकै महत्त्वपूर्ण काममध्ये एक हो, जसले पशुका लागि वर्षभरि खानको लागि घाँस मानिसका लागि ओछ्यान र छानाको सामग्रीको रूपमा प्रयोग हुनेगरेको पाटन नगरपालिका ०३ का स्थानीय धनिराम लुहारले बताउनुुभयो ।
कृषि र संस्कृतिसँग जोडिएको यो समय सुदूरपश्चिमका गाउँहरूमा श्रम र मेलमिलापको उत्सवझैं लाग्ने गरेको अर्की स्थानीय लक्ष्मी महराले बताउनुभयो । बाहिर रोजगारी वा पढाइका लागि गएकाहरू पनि यस बेला घर फर्कन्छन् । सबै मिलेर खर काट्ने, बाँध्ने, काँधमा बोकेर थन्क्याउने त्यो दृश्य गाउँको आत्मा जस्तो हुन्छ ।
बैतडीको मेलौली गाउँकी ६५ वर्षीया आमा गोमती नयकले सुनाइन्, ‘‘लुटा बनाउँदा रमाइलो हुन्थ्यो, गीत गाउँथ्यौं, हाँस्थ्यौं, अनि साँझमा सबैको घरमा भात–दाल र अचार खाँदै हाँसोमजाक हुन्थ्यो ।’’
हराउँदै गएको मौलिकता
पछिल्लो समय भने ती लुटा बनाउनेको सङ्ख्या घट्दै गएका छन । खासगरी विदेश पलायन, श्रमको अभाव र आधुनिक बाली प्रणालीका कारण गाज्यौ खरजस्ता परम्परागत घाँसखेतीको सङ्कलन हराउँदै छ । केही दशक अगाडि गाउँका पाखा हरियो गाज्यौले भरिएका हुन्थे, अहिले त्यही ठाउँमा झाडी वा बाँझो बारी देखिन्छ थालेको वहाँले बताउनुभयो । गाज्यौ खर केवल बस्तुको घाँस होइन, यो गाउँका मानिसहरूबिचको सम्बन्धको प्रतीक हो । एक–अर्काको सहयोग, साँझको गीत र सामूहिक श्रमले बाँधिएको त्यो आत्मीयता अझै पनि सुदूरपश्चिमका हावामा बाँचिरहेकै छ नायकले बताउनुभयो ।
यस्तै सुदूरपश्चिमका पहाडि जिल्ला लगायत बैतडीका विभिन्न ठाउँमा असोजको अन्तिम सातादेखि मङ्सिरको दोस्रो सातासम्म गहुँ छर्नका लागि उपयुक्त समय रहेको कृषि ज्ञानकेन्द्र बैतडीका कृषि प्राविधिक महेश पाण्डेले बताउनुभयो ।
गहुँ छर्दा उन्नत जात र सुख्खा सहन सक्ने जातको बीउ प्रयोग गर्दा उपयुक्त हुने र बैतडीमा डब्लु के १२०४ जातको गहुँको बीउ बढि प्रयोग भइरहेको कृषि प्राविधिकहरु बताउँछन् ।
यस्तै, स्वर्गद्वारी, दाँते जातको गहुँको बीउ पनि प्रयोग रहेको र बेँसी क्षेत्रमा गौतम जातको गहुँको बीउ पनि प्रयोग भइरहेको छ । केही ठाउँमा स्थानीय जातको बीउ समेत प्रयोग हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीले बताउनभयो ।
बैतडीमा १५ हजार चार सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिने भए पनि आधाभन्दा बढी क्षेत्रमा सिँचाइको अभाव रहेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।