बाँके समाचारदाता
बाँके, असोज २८ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताउनुभएको छ । विश्वविद्यालयको सातौँ सभालाई आइतबार सम्बोधन गर्दै उहाँले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।
मुख्यमन्त्री आचार्यले पछिल्लो केही महिनायता गरिएको मेहनतले आशा जगाएको उल्लेख गर्दै विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्ने बताउनुभयो । “प्रचारप्रसारमा अझ सक्रिय हुनुपर्ने आवश्यकता छ,” उहाँले भन्नुभयो, “विश्वविद्यालयलाई जनस्तरसम्म पु¥याउन सबैले मिलेर काम गर्नु पर्छ ।” उहाँले लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सङ्गमस्थल भएकाले यसले तीन वटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने क्षमता रहेको बताउनुभयो ।
“यो विश्वविद्यालयलाई धेरै हिसाबले मन्थन गरेर उत्कृष्ट बनाउन सकिन्छ,” उहाँले भन्नुभयो, “सरकारका तर्फबाट आवश्यक सहयोग र साथ रहने छ ।” सभामा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पनि विश्वविद्यालयले विद्यार्थीमा विश्वास जगाउँदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सातौँ सभामा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयमा प्रस्तावमा छलफल गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन र २०८२/८३ को बजेट स्वीकृति, अध्ययन संस्थान तथा केन्द्रहरूलाई आर्थिक व्यवस्थापन अधिकार प्रदान गर्ने, शिक्षक–कर्मचारी सेवा विनियममा संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार र कृषि, वन तथा पर्यटनका शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी प्रस्तावहरू समावेश थिए ।