• २८ असोज २०८२, मङ्गलबार

एक सातामा एक हजार ४४ जनाले लिए नागरिकता

blog

जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी) असोज २८ गते ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा दसैँपछि सेवाग्राहीको निकै ठुलो भीड लागेको छ । प्रशासन कार्यालयले चार कार्यालयका जनशक्ति व्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेको छ । प्रशासन कार्यालयको तथ्याङ्क अनुसार दसैँपछिको एक सातामा नयाँ नागरिकता ६५५ र नागरिकताको प्रतिलिपि ३८९ जनाले बनाएका छन् ।

नाबालक परिचयपत्र २६, राहदानी आवेदन सङ्कलन ५२६, राहदानी वितरण १८७, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन एक हजार २४५, राष्ट्रिय परिचयपत्र वितरण ८५८ र मतदाता नामवली सङ्कलन २२३ जनाको गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

दसैँमा घर आएको मौका छोपेर नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउनेहरुले प्रशासनमा भीड छ । बर्सेनी दसैँतिहारको बेला प्रशासनका भीड धेरै हुने भएकाले आफूहरुले सहज सेवा प्रवाहको उपाय खोजिरहेको गैरेले बताउनुभयो । नागरिकको सेवालाई सहज र सहज बनाउन प्रमुख जिल्ला अधिकारी कोइराला र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे शाखाहरुमै बसेर सहजीकरण गर्ने तथा लाइन र कागजपत्र व्यावस्थापनमा समेत सहयोग गरिरहनुभएको छ ।

अहिले राष्ट्रिय परिचय पत्र र राहादानीमा टोकन प्रणाली लागू गरिएको छ । कर्मचारीहरुको अभाव देखिएपछि जिल्ला समन्वय समिति, डिभिजन वन, मालपोत र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट एक/एक जना कर्मचारी माग गरेर प्रशासनको सेवा प्रवाह गरिएको गैरेले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय गुल्मीमा दुई प्रशासकीय अधिकृतमध्ये एक जना कमल सेन ओली मात्र कार्यरत हुनुहुन्छ । बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिने अवस्था भीडका कारण रहेको ओलीले बताउनुभयो ।

निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताएपछि जिल्ला–जिल्लामा अभियान चलिरहेको छ । गुल्मीमा नागरिकको सहजताका लागि निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा दसैंपछि सेवाग्राहीको अत्यधिक भीड छ ।

अहिले प्रशासन आएका नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता नामावलीमा नाम दर्ताको काम एकै ठाउँबाट गर्न पाएका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्कबहादुर श्रीसका अनुसार अहिलेसम्म ५९० नयाँ मतदाता थपिएका छन् । तिमध्ये ११ जना बाहिरी जिल्लाका छन् । त्यस्तै २० जनाले त्रुटि सच्याएको र ९५ जनाले ठाउँसारी गरेको श्रीसले जानकारी दिनुभयो ।