• २८ असोज २०८२, मङ्गलबार

तिहारपछि प्रदेश सभा अधिवेशन बोलाइने

blog

भैरहवा समाचारदाता

भैरहवा, असोज २८ गते । मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ध्यानमा राखी लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन तिहारपछि बोलाइने भएको छ । प्रदेश सरकारका अनुसार अधिवेशनका लागि आवश्यक बिजनेस (कार्यसूची) तयारी भइरहेको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले सरकारले प्रदेश सभामा प्रस्तुत गर्न विभिन्न विधेयकको तयारी अन्तिम चरणमा पु¥याइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब बस्ने हिउँदे अधिवेशनमा संसद्मा बिजनेस दिने गरी तयारी भइरहेको छ ।”

मन्त्री पन्थीका अनुसार मन्त्रीपरिषद्ले हालसम्म दुई वटा विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति दिएको छ । तिनमा लुम्बिनी प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक र जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक छन् । यस्तै दलित अधिकार विधेयक र थारू समुदायका चाडपर्वसम्बन्धी विधेयक पनि अन्तिम तयारीमा छन् ।

प्रदेश सभा सचिवालयले पनि अधिवेशनका लागि आवश्यक तयारी तीव्र पारेको जनाएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार तिहारअघि अधिवेशन बस्ने सम्भावना नभएकाले सरकारको आह्वानसँगै सचिवालय पूर्ण तयारी अवस्थामा रहने छ ।

दोस्रो लुम्बिनी प्रदेश सभाले अहिलेसम्म १९ वटा विधेयक दर्ता गराएको छ । तीमध्ये १४ वटा प्रमाणीकरण, दुई वटा प्रमाणीकरणको चरणमा, दुई वटा लागत कट्टा र एउटा अस्वीकृत भएको सचिवालयले जनाएको छ ।

यसबाहेक जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन ऐन, २०७५ र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ संशोधनका विधेयक दर्ता भए पनि हालसम्म प्रस्तुत भएका छैनन् । त्यस्तै लुम्बिनी प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन विधेयक, २०७९ र स्वास्थ्य सेवा ऐन संशोधन विधेयकको पनि लागत कट्टा गरिएको छ ।

सरकार परिवर्तनपछि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयक पुनः परिमार्जन गरी दर्ता गरिए पनि अझै पेस भइसकेको छैन । अब हिउँदे अधिवेशनमा यी विधेयकसहित थप प्रस्ताव आउने अपेक्षा गरिएको छ । गत अधिवेशनमा बजेट पारित भएपछि प्रदेश सभा छोटो अवधिमै अन्त्य गरिएको थियो । हाल मुलुकभर चलेका आन्दोलन र राजनीतिक गतिविधिले प्रदेश सभा सदस्यहरूको सव्रिmय भूमिका आवश्यक बनाएको भन्दै दलका नेताले छिटो अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन् ।