• २८ असोज २०८२, मङ्गलबार

साढे छ हजार घरको छाना फेर्न बाँकी

blog

घोराही समाचारदाता 

घोराही (दाङ), असोज २८ गते । दाङमा करिब साढे छ हजार घरमा टिनको छाना लगाउन बाँकी रहेको पाइएको छ । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय दाङले सुरक्षित आवास कार्यक्रम अन्तर्गत खरको छाना हटाई टिनको छाना लगाउन छनोटमा परेका नौ हजार ८७९ घरमध्ये अझै छ हजार ६१२ घरमा टिनको छाना लगाउन बाँकी रहेको जनाएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खरको छाना हटाएर टिनको छाना लगाउनका लागि स्वीकृत भएका १३ हजार ५८७ घरमध्ये आर्थिक रूपमा विपन्न नौ हजार ८७९ घर छनोटमा परेका थिए । 

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर मिलन अर्यालले छनोटमा परेका घरमध्ये चार वर्षको अवधिमा तीन हजार २६७ विपन्न नागरिकका घरमा टिनको छाना लगाउने काम सकिएको बताउनुभयो । उहाँका अनुसार आव २०८१/८२ सम्म टिन लगाउने काम सकिएका तीन हजार २६७ घर रहे पनि पहिलो किस्ता लग्ने चार हजार ६५३ घरपरिवार रहेका छन् । सरकारले खरको छाना हटाई टिनको छाना लगाउनका लागि सुरुमा ४५ हजार पहिलो किस्ता र काम सकिएपछि दोस्रो किस्ताका रूपमा ३० हजार रुपियाँ दिने गरेको छ ।   

सुरक्षित आवास कार्यक्रम अन्तर्गत जिल्लाको घोराही उपमहानगरपालिकामा ७२९, तुलसीपुर उपमहानगरपालिकामा ४६८, लमही नगरपालिकामा २३९ घरमा खरको छाना हटाई टिन लगाउने काम गरिएको छ । राजपुर गाउँपालिकामा ५२४, गढवामा ३४१, राप्तीमा २२५, बङ्गलाचुलीमा ३९१, शान्तिनगरमा १६१, दङ्गीशरणमा १२१ र बबईमा ६८ घरमा टिनको छाना लगाइएको छ । 

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय दाङका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत टिनको छाना लगाउन हालसम्म २० करोड ३५ लाख ३० हजार २७५ रुपियाँ खर्च भएको छ; जसमा पहिलो किस्ताबापत चार हजार ६५३ घरपरिवारलाई १३ करोड ५७ लाख ४६ हजार २७३ रुपियाँ र घरमा टिन लगाउने काम सम्पन्न गरेका तीन हजार २६७ घरपरिवारलाई छ करोड ७७ लाख ३८ हजार ३८२ रुपियाँ खर्च भएको छ ।

घरमा टिन लगाउन नसक्ने विपन्न नागरिकलाई सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सरकारले पहिलो किस्तामा ४५ हजार र दोस्रो किस्तामा ३० हजार रुपियाँ गरेर टिनको छानो लगाउनका लागि ५७ हजार रुपियाँ सहयोग गर्ने गरेको छ ।