• २८ असोज २०८२, मङ्गलबार

‘अभिभावकको भूमिकामा नगरप्रमुख पाएका छौँ’

blog

मृतक रामनाथ पासवानका परिवारलाई राहत वितरण गर्नुहुँदै लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, असोज २८ गते ।
तराई मधेशमा दलित समुदायहरुको अवस्था अति नै दयनीय छन् । लहान नगरपालिकामा झण्डै २० हजार दलित समुदायहरु २४ वटै वडाहरुमा बस्छन् । अवास, उपचार र राहतका लागि लहान नगरपालिकाले खेलिरहेको अभिभावकको भूमिकाबाट दलित समुदाय खुसी देखिएका छन् ।

सामाजि सञ्जाल वा कुनै माध्यमबाट दलित बस्तीमा मानवीय सङ्कट देखिएपछि राहत लिएर लहान नगरप्रमुख महेश प्रसाद चौधरी पुगिरहनुभएको छ । सबैभन्दा दयनीय अवस्था रहेको मुसहर समुदायको मृत्यु भएपछि दाहसंस्कार गर्न पाँच हजार रकम  र खाद्यान्न राहत दिँदै आइरहनुभएको छ ।

असोज २७ गते लहान नगरपालिकाको ग्रामीण भेगमा रहेको सबैभन्दा ठुलो र बढी जनसङ्ख्या भएको वडा नम्बर २४ का तीन दलित परिवारमा खाद्यान्न लिएर पुग्नुभयो, नगरप्रमुख चौधरी । नौ वर्ष अघि वैदेशिक रोजगारमा कतार गएका रामनाथ पासवान कतारमा नै दुर्घटनामा परेर अपाङ्ग हुनुभएको थियो । रामनाथ पासवानको मृत्यु भएको खबर सामाजिक सञ्जालबाट थाहा पाएपछि एक क्वीन्टल चामल, पाँच किलो दाल, पाँच किलो नुन, चना मटर र तेल लिएर दैलोमा नै पुग्नुभयो, नगरप्रमुख चौधरी ।

यसैगरी, त्यहाँ गाउँका ७५ वर्षीया मानकी पासवानकको समेत मृत्यु भएकाले राहत वितरण गर्नुभयो । सोही गाउँ बस्ने ४५ वर्षीय शिव कुमार सदाय भैरवाको एक प्लाइउड उद्योगमा मजदुरको रुपमा काम गरिरहेनुभएको थियो । दुई महिना अघि दुवै खुट्टा भाँचिएको सदायको परिवारलाई राहत दिँँदै नगरप्रमुख चौधरीले भन्नुभयो, ‘‘हिँड्नलाई तत्कालै वैशाखी र थप उपचार लहान नगरपालिकाले गर्नेछ । चिन्ता गर्नु पर्दैन, जसको कुनै सहारा छैन त्यसका लागि लहान नगरपालिका छ ।’’

स्थानीय दलित समुदायका अगुवा विन्देश्वर पासवानले दलित बस्तीमा उपचार गराइ दिइने र तत्कालै घरमै आएर राहत दिइने नगरप्रमुख महेश प्रसाद चौधरी दलित समुदायका लागि असली जनप्रतिनिधि र अभिभावक पाएको सुनाउनु भयो । उहाँले थप्नुभयो, ‘‘अहिलेसम्म कुनैपनि जनप्रतिनिधि दलित बस्तीमा यतिका अभिभाकत्वको भूमिका निर्वाह गरिएका थिएन ।’’

लहान  नगरप्रमुख महेश प्रसाद चौधरीले लहानको विपन्न दलित बस्तीहरुमा फुसको घर व्यवस्थापन गरी आवास शिक्षाका लागि शैक्षिक सामग्रीको व्यवस्थापन र निरन्तर राहत वितरण गरिरहेको बताउनुभयो । ‘‘लहान नगरपालिका प्रमुखमा निर्वाचित हुनुभन्दा अघि कोरोना कालमा समाजवादी नेता स्वर्गीय प्रदिप गिरीबाट प्रेरित भएर राहत वितरण गर्न सुरु गरेका थिए । नगरप्रमुखमा निर्वाचित भएपछि नगरपालिकाको बजेट विनियोजन गरेर नै यसको निरन्तरता दिँदै आइरहेका छौ,’’ उहाँले प्रष्टयाउनुभयो ।