खाँदबारी समाचारदाता
सङ्खुवासभा, असोज २८ गते । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलले यात्रुलाई बराबर सुविधा हुने गरी भिआइपी कक्ष बन्द गरेको छ । विमानस्थल प्रशासनका अनुसार जेनजी आन्दोलनपछि सुरक्षासम्बन्धी चुनौती र भिआइपी कक्षको अनावश्यक प्रयोगका कारण उक्त सेवा स्थायी रूपमा बन्द गरिएको हो ।
विगतमा राजनीतिक दलका नेतासहित विशिष्ट व्यक्तिहरू भिआइपी कक्ष प्रयोग गर्ने र उनीहरूका समर्थक नाराबाजीसहित भिडभाड गर्ने गरेका कारण विमानस्थलमा सुरक्षा चुनौती हुने गरेको थियो ।
विमानस्थल प्रमुख नवराज दाहालले केन्द्रको निर्देशन अनुसार भिआइपी कक्ष बन्द गरिएको जानकारी दिनुभयो । उहाँले अब सबै यात्रुले एउटै कक्षबाटै सेवा लिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो ।
उहाँका अनुसार भिआइपी कक्ष बन्द भएपछि विमानस्थलमा शान्त वातावरण कायम भएको र यात्रुले सहज अनुभव गरेका छन् । हाल तुम्लिङटार विमानस्थलमा बुद्ध एयरको ७२ सिटे विमानले काठमाडौँ–तुम्लिङटार–काठमाडौँ दैनिक उडान सञ्चालन गर्दै आएको छ ।