• २८ असोज २०८२, मङ्गलबार

खोलाको पुलमा भ्वाङ

blog

विराटनगर र कटहरी जोड्ने सिङ्घियाखोलाको पुलमा परेको भ्वाङमा राखिएको ढुङ्गा । तस्बिर : नवराज कट्टेल

रङ्गेली समाचारदाता

विराटनगर, असोज २८ गते  । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने सिङ्घीयखोलाको पुलमा भ्वाङ परेको छ । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर ७ र ८ वडा तथा कटहरी गाउँपालिका १ र २ लाई जोडेको पुलमा भ्वाङ परेको हो । हुलाकी राजमार्ग अन्तर्गत मोरङको ४४ किलोमिटर सडक निर्माण तथा विस्तार अलमलमा छ । त्यही आयोजना अन्तर्गत पर्ने सिङ्घीया खोलाको पुल जीर्ण भएर भत्कन थालेको छ । 

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले पुलमा भ्वाङ परेर सवारी आवतजावत समस्या भएपछि मर्मतको तयारी थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार हुलाकी राजमार्गमा पर्ने भए पनि हालसम्म पुल निर्माणको ठेक्का व्यवस्थापनको प्रव्रिmया थालिएको छैन । चालु आर्थिक वर्षभित्रमा ठेक्का व्यवस्थापन प्रव्रिmया थाल्ने लक्ष्य भने राखिएको छ । 

पुलमा भ्वाङ परेपछि मोरङको पूर्वी दक्षिण क्षेत्रमा यातायात अवरोध हुन सक्ने चिन्ता बढेको छ । योजना कार्यालय इटहरीका प्रमुख पोखरेलले कटहरी औद्योगिक कोरिडोरमा मालवस्तु बोकेर आउजाउ गर्ने मालवाहक सवारीलाई असहज हुन सक्ने गुनासो बढी आएको बताउनुभयो । पोखरेलले भन्नुभयो, “डाइभर्सन खोल्ने ठाउँ पनि नहुँदा पुललाई तत्काल मर्मत गरेर काम चलाउनुपर्ने स्थितिमा छौँ । त्यसका लागि प्राविधिक लागत तयार गरेर काम थाल्ने तयारी पनि गरिसकेका छौँ ।”

यस अगाडि पनि कटहरी औद्योगिक कोरिडोरका उद्योगीले पुलमा समस्या भएको भन्दै बारम्बार गुनासो गर्दै आएका थिए । जोखिमयुक्त पुल टालटुलमै चल्दै आएको छ । मोरङको पूर्वी दक्षिण क्षेत्रका बजारलाई प्रदेश राजधानी र औद्योगिक एवं व्यावसायिक केन्द्र  विराटनगर महानगरपालिका जोड्ने पुल बर्सेनि भ्वाङ पर्छ अनि टालेर काम चलाउने गरिएको छ । 

हाटखोलास्थित सिङ्घीया पुलदेखि कटहरी गाउँपालिकाको रामचोकसम्म छ किलोमिटर हुलाकी सडकखण्ड अहिले पनि निर्माण तथा विस्तारको व्रmममा भद्रगोल बनेको छ । बर्सातभरि हिलाम्मे बनेको सडक घाम लागेपछि धुलाम्मे हुने गरेको छ । आयोजना कार्यालय प्रमुख पोखरेलले अब छठपछि सडकको काम थालिने बताउनुभयो तर सडकको काम थाल्नुअगाडि विद्युत्का पोल सार्नुपर्ने हुन्छ । हाटखोला–नयाँबजारको छ किलोमिटरमा २०७६ सालदेखि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिको जिम्मेवारीमा निर्माण हुँदै आएको हो । हालसम्म यसको काम २२ प्रतिशतभन्दा माथि पुग्न सकेको छैन । 

आयोजना कार्यालय इटहरीका प्रमुख पोखरेलका अनुसार यो विषय अहिले ऊर्जा मन्त्रालयमा पुगेको छ । ऊर्जा मन्त्रालयले नै यसको समाधान खोजिदिँदा मात्रै सडक विस्तारको बाटो खोलिने छ । अहिले पूर्वाधार र ऊर्जा मन्त्रालयको विभागीय मन्त्री एकै व्यक्ति भएका कारण काम छिटो हुने  विश्वास गरिएको छ । 

हुलाकी राजमार्ग अन्तर्गत मोरङको ४४ किलोमिटर दुरी पर्दछ । यसमध्ये २०७६ सालमा दुई वर्षभित्र काम सक्ने भन्दै ठेक्का लिएको श्रेष्ठ कन्स्ट्रक्सनले छ किलोमिटर सडक छिचोल्न अहिलेसम्म सकेको छैन ।