दोधारा चाँदनी (कञ्चनपुर), असोज २८ गते । तिहार नजिकिँएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको छ । अन्य समयमा घरेलु जुत्ता उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने उहाँले दसैँ, तिहारको समयमा मादल बनाउने गर्नुहुन्छ ।
नेपाली सांस्कृतिक चाडपर्वमा विशेष स्थान ओगटेको मादल देउसीभैलो, नाचगान र सांस्कृतिक कार्यक्रमको प्रमुख बाजा भएकाले तिहार नजिकिँदै गर्दा मादलको माग बढेको वादीले बताउनुभयो । “दसैँ र तिहारको समयमा मादल बनाउने माग बढी आउने गरेको छ, विशेषगरी तिहारको समयमा मादलको बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “तिहारका मागअनुसार मादल पु¥याउन पनि सकिँदैन ।” तिहारमा मादल बिक्रीबाट रु ४० हजारसम्म आम्दानी हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।
केही वर्षअघिसम्म तीजमा पनि मादलको माग बढी आउने गरेको भए पनि पछिल्लो समय आधुनिक प्रविधिको बढ्दो प्रयोगले तीजमा मादल बिक्री हुन छोडेको वादीले बताउनुभयो । “दुई–तीन वर्षअघिसम्म तीजमा मादलको माग उच्च थियो, अहिले तिहारमा मात्रै खोजी हुन्छ”, उहाँले भन्नुभयो, “मादल बनाएको सानो र ठूलोको दुई हजारदेखि १२ हजारसम्म बिक्री हुन्छ ।”
कच्चा पदार्थ नपाउँदा समस्या
वाद्यवादनका सामग्री बनाउनु वादी समुदायको पुख्र्यौली पेसा हो । पछिल्लो समय वाद्यवादनका सामग्री बनाउन कच्चापदार्थ पाउन कठिन भएपछि पेसा नै सङ्कटमा पर्न थालेको दोधारा चाँदनी–३ का वादीले जानकारी दिनुभयो । “बाजेबुबाले वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभयो, अहिले कच्चापदार्थ रूपमा आवश्यक पर्ने छाला र काठ (खमारी) नपाउँदा समस्या हुन्छ”, उहाँले भन्नुभयो ।
मादलमा बाख्राको छालाको प्रयोग हुने बताउँदै भारतीय छिमेकी सहरमा छाला पाइने भए पनि नाकामा सुरक्षाकर्मीले ल्याउन रोक लगाउने गरेकाले समस्या हुने वादीको अनुभव छ । छाला र खमारी सहज रूपमा नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने सेवाग्राही बढी हुने गरेका उहाँले बताउनुभयो ।
उहाँका अनुसार भारतीय बजारमा एउटा छालाको रु एक हजारसम्ममा खरिद गर्न पाइन्छ । “यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छाला मात्रै पाउँदैन”, उहाँले भन्नुभयो, “भारतीय सहरमा पाइन्छ सीमानाकामा ल्याउन पाइँदैन ।”
वादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्रीवितरण गर्नु हो । विभिन्न पर्वमा नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदायले बढ्दो आधुनिकतासँगै पुख्र्यौली पेसा सङ्कटमा पर्दै गएको बताउँछन् । रासस