सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), असोज २१ गते । धनकुटाको विभिन्न दुई स्थानमा झुण्डिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ । एकजना घरको कोठाभित्र र अर्को घर छेउको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
धनकुटाको साँगुरीगढी गाउँपालिका –४, स्थित एक्सेरुङ बस्ने करिब ४५ वर्षीय पुरुष रहेका छन् । उनी आफ्नै दिदी फूलमाया लिम्बूको घरमा पाहुना गएको र घरको माथिल्लो तलाको कोठाभित्र प्लाष्टिकको सुत्रीले पासो लागी झुण्डिएको अवस्थामा सोमबार करिब साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका –१ स्थित मचेपु पारी खाप्राङ बस्ने करिब ५५ वर्षीय हिक्मत दर्जी रहेका छन् । उनी घर छेउमा रहेको गोगनको रुखमा कपडाको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मङ्गलबार बिहान करिब ८ बजे फेला परेको प्रहरी प्रवक्ता डिएसपी कार्कीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुवै घटनास्थलमा प्रहरी टोली गएको र घटनाबारे थप अनुसन्धान गरिरहेको छ । घटना के कसरी भयो थप अनुुसन्धानपछि मात्र भन्न सकिने उहाँको भनाइ छ ।