बुटवल समाचारदाता
बुटवल, असोज २१ गते । बुटवल–गोरुसिङ्गे सडकखण्डको विस्तारका क्रममा करिब सात हजार १७५ रुख काटिएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत ३१ किलोमिटर लामो यस खण्डमा सडक दुई लेनबाट चार लेनमा रूपान्तरण हुँदै छ । रुख कटानपछि सडक किनारा उजाड बनेको छ ।
सडक विस्तार अन्तर्गत बुटवल–चन्द्रौटा सडक किनारमा बर, पिपल, स्वामी, आँप, कदम, साल, सिमललगायतका सात हजारभन्दा बढी रुख काटिएका थिए । आयोजना प्रमुख तथा इन्जिनियर कुशलता न्यौपानेका अनुसार रुपन्देहीका बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा दुई हजार ६१३, कञ्चन गाउँपालिकामा एक हजार ३२६ र कपिलवस्तुको चार नम्बर तथा गोरुसिङ्गे क्षेत्रमा तीन हजार २३६ रुख काटिएका छन् ।
काटिएका रुखको सट्टा नयाँ बिरुवा रोप्ने सम्झौता पनि गरिएको छ । आयोजना अनुसार प्रत्येक काटिएका रुखका लागि १० नयाँ रुख रोपिने छन् । यसका लागि सडक डिभिजनमार्फत वन विभागलाई चार करोड ७१ लाख रुपियाँ भुक्तानी गरिएको छ । नयाँ रुखको पाँच वर्षसम्म संरक्षण खर्चसमेत आयोजनाले वन विभागलाई भुक्तान गरिसकेको छ ।
बुटवल–भैरहवा र भैरहवा–लुम्बिनी सडकखण्डमा पुराना रुख कटान भइसकेको र सडक निर्माण सकिएको पाँच वर्षसम्म पनि नयाँ रुख रोपिएको छैन । डिभिजन वन कार्यालय रुपन्देहीका डिभिजनल वन अधिकृत प्रवीण बिडारीले नयाँ बिरुवा रोप्न प्रयास भए पनि जग्गा अभावका कारण काम सुरु हुन नसकेको जानकारी दिनुभयो ।
बुटवल–गोरुसिङ्गे सडक विस्तारको ठेक्का चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवालाई १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा सम्झौता गरिएको छ । फिल्डमा काम आशिष निर्माण सेवाले गर्दै आएको छ । सम्झौता अनुसार तीन वर्षभित्रै सडक विस्तार सम्पन्न हुने योजना रहेको छ । ठेक्का २०८१ असारमा भएको थियो र काम कात्तिक ४ गतेदेखि लागु भएको थियो । अहिलेसम्म करिब १३ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
सडक विस्तारसँगै पर्यावरणीय प्रभावको ख्याल राख्दै वृक्षरोपण कार्यक्रम अगाडि बढाइने र सडक किनारमा हरियाली कायम राखिने योजना छ ।