• २१ असोज २०८२, मङ्गलबार

उपनिर्वाचन स्थगितले दलका नेता खुसी

blog

यदुप्रसाद भट्ट

मनाङ, असोज २१ गते । मनाङ जिल्ला प्रदेश सभा १ (ख) को पूर्वनिर्धारित उपनिर्वाचन कार्यक्रम स्थगित भएको छ ।

सोमबार निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय मनाङलाई २०८२ कात्तिक १७ गतेका लागि तोकिएको उक्त उपनिर्वाचन हाललाई स्थगन गरिएको परिपत्र आएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन प्रमुख विकास लम्सालले बताउनुभयो । भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेपछि पूर्वनिर्धारित कार्यतालिका अनुसारका सबै कार्यक्रम सञ्चालनमा असर परेकाले उक्त निर्णय गरिएको स्पष्ट पारेको छ ।

जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएसँगै लुम्बिनी प्रदेशको प्रतिनिधि सभा सदस्यका लागि तय भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचन रद्द भएको थियो तर मनाङ प्रदेश सभा भने विघटन पनि नभएको, क्रियाशील पनि नरहेको अवस्थामा आयोगको पत्र अनुसार हाललाई निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको प्रमुख लम्सालले बताउनुभयो ।

उपनिर्वाचनको मिति घोषणा भएलगत्तै उपनिर्वाचन कार्यक्रम कार्यान्वयन र तयारी गर्दै आएको जिल्ला निर्वाचन कार्यालय मनाङले उपनिर्वाचन कार्यक्रम स्थगित भएको प्रस्ट पारेको छ । चाडपर्वका मुखमा जिल्लास्थित राजनीतिक दलबिच उपनिर्वाचनबारे कुनै चहलपहल भएको छैन । मनाङ १ (क) का गण्डकी प्रदेश सभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले निर्वाचन स्थगित भएकोमा स्वागतयोग्य कार्य भनी प्रशंसा गर्नुभएको छ । उहाँले भन्नुभयो, “मेरो विचारमा अब सरकारले एकैचोटि प्रतिनिधि सभा निर्वाचनका बेला गरे हुन्छ ।” त्यसै गरी नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले पनि मनाङमा नीतिभन्दा नेता धेरै भएकाले उपनिर्वाचन स्थगित नभई रद्द हुने कुरा नै उत्तम विकल्प भएको विचार व्यक्त गर्नुभयो । मनाङमा निर्वाचनभन्दा पनि विकासको खाँचो रहेको उहाँको भनाइ छ ।