• २१ असोज २०८२, मङ्गलबार

वर्षाले कोजाग्रत पूर्णिमा प्रभावित

blog

बाढीका कारण जलेश्वर बजारको अवस्था । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण

महोत्तरी, असोज २१ गते  । दसैँको अन्तिम दिन तिथि अनुसार सोमबार नै कोजाग्रत पूर्णिमा भए पनि महोत्तरीका बजारमा विगतका वर्षको जस्तो कुनै चहलपहल छैन । यस वर्ष बाढी डुबानका कारणले बजारमा कोजाग्रत पूर्णिमाको चहलपहल हुन नसकेको हो । 

 विगत दुई दिनदेखिको अविरल वर्षाका कारण महोत्तरीका विभिन्न क्षेत्र बाढी र डुबानले चपेटामा परेको छ । सदरमुकाम जलेश्वरको बजार क्षेत्रमा पनि बाढी पसेको छ ।  जलेश्वर बजारका अधिकांश घर जलमग्न अवस्थामा छन् । बजार जाने सडकसमेत अवरुद्ध छन् । 

दसैँको अन्तिम दिन धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी कोजगरा (कोजाग्रत पूर्णिमा) मनाइन्छ । कोजाग्रत पूर्णिमालाई विधिवत् रूपमा दसैँको समापन तथा तिहारको स्वागतका रूपमा लिने गरिन्छ । मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमालाई ‘कोजगरा’ का रूपमा मनाइने गरिन्छ ।

 यस दिन पान र मखान खानुपर्ने चलन मिथिलामा रहिआएको छ । पान र मखान स्वर्गमा पनि पाइँदैन भन्ने मान्यता छ । त्यसै गरी मिथिलाञ्चलमा ब्राह्मणलगायतका परिवारमा कोजगरा पर्वको रौनक नै छुट्टै हुन्छ । यस दिन नवविवाहित बेहुलीको घरबाट बेहुलाको घरमा कोसेली (भार) लिएर जाने चलन रहेको छ । मिथिलाञ्चलमा मधुश्रावणीका अवसरमा बेहुलाका घरबाट बेहुलीका घरमा भार (कोसेली) लगिन्छ भने कोजगरामा बेहुलीका घरबाट बेहुलाका घरमा पान, मखान, फलफूल, दही, मिठाईलगायतका सामग्री लिएर जाने गरिन्छ । यस दिन भारसँगै चुमाओन विधि (आशीर्वाद दिने) तथा आफन्त इष्टमित्रलाई भोज खुवाउने प्रचलन रहेको छ । घर घरमा माता लक्ष्मीको पूजापछि परिवारका सबै सदस्यले केरा, पान र मखान खाने गर्छन् ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दुर्गापक्ष अर्थात् दसैँ कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो रात महालक्ष्मीले पृथ्वीको भ्रमण गरी को जागेको छ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गरिरहेको छ उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिन्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण राति धेरै जना जाग्राम बस्ने गरेका छन् ।

यस वर्ष भने कोजाग्रत पूर्णिमाको दिन कुनै उत्साह नदेखिएको स्थानीय युवा नितेश झा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतका वर्षमा यस दिन बजारमा मिठाई, तरकारी, पान, मखानसहितका सरसामान किन्न भिडभाड हुने गथ्र्यो । यस वर्ष बाढीका कारण कुनै चहलपहल छैन ।”

जलेश्वर बजारक्षेत्र अहिले पनि जलमग्न छ । जलेश्वर जोड्ने विभिन्न सडकखण्ड अवरुद्ध छन् । जलेश्वर नगरपालिकासहित जिल्ला कारागार, प्रादेशिक अस्पताल जलेश्वर, विद्युत् प्राधिकरण जलेश्वर शाखा तथा सबस्टेसन, नेपाल टेलिकम, लोक सेवा आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतका कार्यालय डुबानमा परेका छन् । विद्युत् सबस्टेसनमा बाढी पसेकाले विगत तीन दिनदेखि जलेश्वर क्षेत्रमा विद्युत् अवरुद्ध छ । 

रातो नदीका विभिन्न तटबन्ध कटान हुँदा पानी सोझै सदरमुकाम जलेश्वर प्रवेश गरेको थियो । जसका कारण जलेश्वरको महादेव मन्दिर क्षेत्र, जलेश्वरको अस्पताल चोक, जिरोमाइल चोक, बस स्टेन्ड चोक डुबानमा परेका छन् ।