• २१ असोज २०८२, मङ्गलबार

बिरामीलाई कुर्सीमा राखेर उपचार

blog

पञ्चकोशी समाचारदाता

पञ्चकोशी (दैलेख), असोज २१ गते । उपचारका लागि जिल्ला अस्पताल दैलेखमा आएका बिरामीलाई शय्या अभावले कुर्सीमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । पछिल्लो समय जिल्ला अस्पतालको क्षमताभन्दा बढी बिरामी आएपछि कुर्सीमा राखेर उपचार हुँदै आएको हो ।

अस्पतालको भौतिक संरचनाको अभावका कारण शय्यामा राख्ने ठाउँ नहुँदा बिरामीलाई कुर्सीमा राखेर सेवा दिनुपर्ने बाध्यता कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक मनोज विश्वकर्माले बताउनुभयो । उहाँले अस्पतालको आफ्नै सुविधासम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको बताउनुभयो । 

निमित्त स्वास्थ्य व्यवस्थापक विश्वकर्माले भन्नुभयो, “नागरिकलाई सेवा दिँदै आएको अस्पतालमा स्वीकृत १५ शय्या मात्र हुन् तर बढ्दो बिरामीको चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता ६५ शय्या सञ्चालनमा ल्याएको छ । जीर्ण संरचना र शय्या राख्ने ठाउँ अभावका कारण दैनिक अस्पताल आउने बिरामीलाई कुर्सीमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको छ ।”

जिल्लाभरिका पछिल्लो समय दिनमा एक सयदेखि १५० भन्दा बढी नागरिक अस्पतालमा स्वास्थ्य सेवा लिन आउने गरेका स्वास्थ्य व्यवस्थापक विश्वकर्माको भनाइ छ । अस्पतालको सुविधासम्पन्न भवन निर्माणको काम अगाडि बढेको चार वर्षभन्दा बढी भएको छ । निर्माण कार्यले पूर्णता नपाउँदा त्यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन् । कर्णाली प्रदेश सरकारको १८ करोड २३ लाख ९९ हजार रुपियाँ लागतमा चार वर्षअघि अस्पताल भवन निर्माण थालेको थियो । भवन निर्माण नहुँदा नागरिकलाई उपचारमा समस्या भएको सेवाग्राही पूर्णबहादुर बडुवालले बताउनुभयो ।