• २१ असोज २०८२, मङ्गलबार

घट्दै हिमाली गुची च्याउ

blog

जुम्लाको जङ्गलमा पाइने गुची च्याउ ।

नौरते नेपाली 

सिँजा (जुम्ला), असोज २१ गते । हिमाली जिल्लामा पाइने गुची च्याउ कम भेटिन थालेको छ । हिमाली क्षेत्रको चिसो हावापानीमा पाइने गुची च्याउ मिठो र पोषिलो हुन्छ । यो च्याउ सुदूरपश्चिम र कर्णाली प्रदेशका माथिल्लो भेकका वनमा वर्षा सुरु हुने समयमा पाइन्छ । जुम्लाका मानिसले वनबाट टिपेर ल्याउँछन् र स्थानीय व्यापारीलाई बेच्छन् । 

नेपालका व्यापारीले भारतीय व्यापारीलाई बेच्छन् । पोषण र औषधीय गुणले भरिपूर्ण यो च्याउको नेपाल, भारत र चीनमा धेरै माग छ । प्राकृतिक रूपमा मात्रै पाइने भएकाले यसको उत्पादन सीमित हुन्छ । सङ्कलकका अनुसार पछिल्ला वर्षमा वनमा यो च्याउ पाइन छाडेको छ । गुची च्याउ घटिरहेको हुनाले सङ्कलक र सरकार दुवैको आम्दानी घटिरहेको छ । 

जुम्ला, पातारासी गाउँपालिका–४, डिल्लीचौरकी निरु बुढा हरेक वर्ष गुची च्याउ टिप्न जङ्गल जानुहुन्छ । दिनभरि खटेर ५० वटासम्म च्याउ भेटिने गरेको उहाँले बताउनुभयो । सानैदेखि च्याउ टिप्दै आउनुभएकी निरु बुढाको अनुभवमा पछिल्ला वर्षमा च्याउ उम्रिन कम हुँदै गएको छ । यस वर्ष उहाँले २० हजार रुपियाँको मात्रै च्याउ बेच्नुभयो, जबकि तीन वर्षअघिसम्म उहाँले ३५ हजार रुपियाँसम्मको च्याउ बेच्ने गर्नु भएको थियो । 

गुची च्याउ दुई किसिमको हुन्छ । सेतो र कालो । कालो गुची च्याउ विशेष गरी ओसिलो ठाउँमा पाइन्छ भने सेतो गुची च्याउ घमाइलो पाखामा पाइन्छ । स्थानीयले यसलाई टिप्ने, खाने र बेच्ने गर्छन् । पातारासी गाउँपालिका–४, डिल्लीचौरकी लालदेवी बोहोराका अनुसार घरबाट करिब दुई घण्टा हिँडेपछि जङ्गलमा गुची च्याउ भेटिने गरेको बताउनुभयो । उहाँ बालापनदेखि नै हरेक वर्ष भ्याएसम्म च्याउ टिप्न जङ्गल पुग्नुहुन्छ ।  च्याउ सङ्कलकको अनुभवमा अहिले पहिले जति च्याउ भेटिँदैन । उनीहरूका अनुसार समयमा पानी नपर्ने मौसमी अवस्था, वन फँडानी र आगलागी जस्ता कारणले च्याउ कम हुन थालेको छ । यसको सीमित उत्पादन, सङ्कलकको असजिलोपन र उच्च मागकै कारण मूल्य महँगो छ । गुची च्याउ प्रतिकिलो १० हजार रुपियाँसम्ममा बिक्री हुन्छ र माग बढी हुँदा कहिलेकाहीँ त्यसभन्दा पनि महँगो पर्न सक्छ । 

ढुसीको विकसित वर्गमा पर्ने गुची च्याउ सडेका वस्तु र रुखका मुढामा उम्रन्छ । समयमै टिप्न नसके यो कुहिएर जान्छ । जुम्लाका व्यापारी मीनबहादुर कठायतका अनुसार यो च्याउको मुख्य बजार भारत र चीन हो । चीनले आफ्नो अनुकूलता अनुसार मूल्य घटाउने र बढाउने गर्दा कहिलेकाहीँ व्यापारी र सङ्कलक दुवैलाई घाटा हुने गरेको उहाँले बताउनुभयो । वन डिभिजन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बुढथापाका अनुसार मौसम अनुसार वनमा च्याउको उत्पादन घट्ने वा बढ्ने भइरहेको बताउनुभयो । जुम्लाका सबै सामुदायिक वन क्षेत्रमा गुची च्याउ पाइने गरेको उहाँको भनाइ छ । 

सामुदायिक वनले उपभोक्तालाई च्याउ सङ्कलक गर्न निःशुल्क अनुमति दिन्छन् । सङ्कलकले जति च्याउ जम्मा गर्छन्, त्यही अनुसार आम्दानी गर्छन् । एक सिजनमा किसानले कम्तीमा २० हजारदेखि एक लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको पाइन्छ । सामुदायिक वन उपभोक्ता समूह जुम्लाका सचिव भगवती भण्डारीका अनुसार पुस, माघमा हिउँ कम पर्ने र वैशाख जेठमा पानी कम पर्ने भएकाले वनमा च्याउ कम पाइन थालेको बताउनुभयो । 

पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने कर्णाली प्रदेशमा गुची च्याउको सङ्कलक र निकासीको परिमाणमा घटबढ भइरहेको छ । कर्णाली प्रदेश वन निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा हुम्ला, जुम्ला, डोल्पा, दैलेखबाट एक हजार ४४६ किलो गुची च्याउ भारतमा निकासी भएको थियो । त्यसबाट तीन लाख ७१ हजार ७५० रुपियाँ राजस्व सङ्कलन भएको थियो । 

आव २०७५/७६ मा एक हजार ५७२ किलो गुची च्याउ निकासी गरी सात लाख ४७ हजार ५० रुपियाँ राजस्व सङ्कलन भएको थियो । कर्णाली प्रदेश वन निर्देशनालयका वरिष्ठ वन अधिकृत सूर्यप्रसाद शर्माका अनुसार आव २०७६/७७ मा १२ लाख पाँच हजार र आव २०८१/८२ मा सबैभन्दा कम १७ हजार ९५० रुपियाँ राजस्व च्याउ निकासीबापत सङ्कलन भएको थियो । 

नेपालको हावापानीमा गुची च्याउ दुई हजार दुई सय मिटर आसपासको उचाइमा धेरै पाइन्छ । चिस्यान भएको माटोमा आफैँ उम्रने यो च्याउमा प्रोटिन, भिटामिन, क्याल्सियम र फस्फोरस पाइन्छ । मौसममा हुने परिवर्तनका कारण जङ्गलमा पाइने यो च्याउको उत्पादन घटबढ हुँदा च्याउ टिपेर आम्दानी गर्नेको जीविकोपार्जनमा असर परेको छ ।