रसुवा समाचारदाता
रसुवा, असोज २१ गते । रसुवाको लाङटाङ क्षेत्रमा बाढीपहिरोका कारण फसेका १२ जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरी सोमबार दिउँसो स्याफ्रुबेँसी ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार लाङटाङ ट्रेकिङमा गएका १६ जनामध्ये १२ जनाको सकुशल उद्धार गरिएको हो । असोज १७ गते आठ÷आठ जनाको समूह बनाएर उनीहरू लाङटाङतर्फ प्रस्थान गरेका थिए । उद्दार कार्यमा नेपाली सेनाको श्रीनाथ गणसहितको टोली परिचालन गरिएको थियो । उद्दार गरिएकामध्ये सबैलाई सुरक्षित स्थानमा ल्याइए पनि चार जना पर्यटक बेरिङखोलाले बगाएर बेपत्ता भएका छन् । प्रहरी निरीक्षक शाहका अनुसार उनीहरूको खोजतलास कार्य अझै जारी रहेको छ ।
शनिबार गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्सामा बेपत्ता हुनेमा मध्यपुर थिमिका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का रवि श्रेष्ठ रहेका छन् ।