काठमाडौँ, असोज ३ गते । प्रधानमन्त्री सुशीला कार्की र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले दुई देशको ऐतिहासिक र घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाएर अघि बढ्न सहमति जनाउनुभएको छ ।
दुई देशका प्रधानमन्त्रीबिच बिहीबार भएको टेलिफोनवार्तामा दुई देशका जनताको आपसी हितका लागि द्विपक्षीय सहयोग र साझेदारी थप घनिष्ठ बनाउने प्रतिबद्धतासहितको सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार फोनवार्ताका क्रममा प्रधानमन्त्री कार्कीले नेपाल र भारतबिच रही आएको ऐतिहासिक र घनिष्ठ सम्बन्धका साथै बहुआयामिक मानकका रूपमा रहेको जनसम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास मोदीसमक्ष व्यक्त गर्नुभयो ।
भारतका प्रधानमन्त्री मोदीले नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नुभएकोमा प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्नुभयो । उक्त अवसरमा उहाँले नेपालमा हालसालै भएको युवा आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो । यस घडीमा भारत सरकार नेपाल सरकारसँग ऐक्यबद्धताका साथ सदैव साथ रहेको औँल्याउँदै भारतका प्रधानमन्त्री मोदीले शुक्रबार पर्न गएको नेपालको संविधान दिवसका अवसरमा शुभकामना पनि व्यक्त गर्नुभयो ।
कुराकानीका क्रममा प्रधानमन्त्री कार्कीले छिमेकी प्रधानमन्त्री मोदीलाई उहाँको ७५ औँ जन्मदिवसको हार्दिक शुभकामना दिनुभयो । साथै उहाँले भारतका प्रधानमन्त्रीको नेपालप्रतिको सौहार्दपूर्ण ऐक्यबद्धताका लागि धन्यवाद प्रकट गर्नुभयो ।
नेपालमा गत साता भएको जेनजी आन्दोलनको आह्वानलाई सम्बोधन गर्न नेपाली आमयुवाको आकाङ्क्षालाई प्रतिविम्बित गर्दै जनताप्रति जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासनका लागि दृढ सङ्कल्प वर्तमान सरकारले लिएको प्रधानमन्त्री कार्कीले फोनवार्तामा स्पष्ट पार्नुभयो । त्यसका लागि निष्पक्ष निर्वाचन गराउने विषय वर्तमान सरकारको पहिलो उच्च प्राथमिकताको विषय रहेको पनि प्रधानमन्त्री कार्कीले अवगत गराउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतका प्रधानमन्त्री मोदीले नेपाल सरकारको प्राथमिकता अनुसार भविष्यमा पूर्ण समर्थनका साथ आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्री कार्कीसँग न्यानो र सौहार्द वार्ता भएको भारतका प्रधानमन्त्री मोदीले फोनवार्तापछि सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ । उहाँले नेपालको शान्ति र स्थिरता पुनस्र्थापित गर्न प्रधानमन्त्री कार्कीले गर्नुभएको प्रयासप्रति भारत सरकारको दृढ समर्थन रहेको पनि प्रस्ट पार्नुभएको छ ।
यसअघि गत मङ्गलबार नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको थियो । सो क्रममा उहाँले प्रधानमन्त्री कार्कीसँग भारतका प्रधानमन्त्री मोदीले टेलिफोन वार्ता गर्न चाहेको कुरा राख्नुभएको थियो ।
त्यसपछि भारतका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गर्ने विषयमा दुवै देशका सरकारले सहमति जनाएपछि बिहीबार वार्ता भएको हो ।
अमेरिका र चीनको शुभकामना
यसै गरी नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूतले प्रधानमन्त्री कार्कीलाई शुभकामना दिने क्रम जारी छ । सो क्रममा बिहीबार अमेरिका तथा चीनका राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटेरै शुभकामना दिनुभएको हो ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गर्नुभयो ।
भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकी राजदूत थम्पसनले नेपालको विकास आकाङ्क्षालाई निरन्तर सहयोग गर्ने अमेरिकी सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटमा राजदूत थम्पसनले हालैका प्रदर्शनमा ज्यान गुमाउनुभएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन रहेको प्रस्ट पार्नुभयो । अमेरिका र नेपालबिच ७८ वर्षभन्दाअघिदेखिको साझेदारीलाई स्मरण गर्दै दुवै देशले व्यापार, आर्थिक वृद्धि, विपत् व्यवस्थापन र नेपालको रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसिसी सम्झौताका प्राथमिकतामा छलफल गर्नुभएको दूतावासले जानकारी दिएको छ । जसले नेपाललाई अझ सुरक्षित, सबल र समृद्ध बनाउन सहयोग पु¥याउने अपेक्षा रहेको जनाइएको छ ।
यस्तै छिमेकी मुलुक चीनका तर्फबाट नेपालका लागि राजदूत चेन सोङले प्रधानमन्त्री कार्कीसँग भएको शिष्टाचार भेटमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउँदै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनका राजदूत सोङले चीन सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गर्नुभयो ।
मन्त्रालयका अनुसार सो क्रममा नेपाली जनताले रोजेको राजनीतिक र विकासपथलाई चीन सरकारले सदैव सम्मान गर्ने प्रस्ट पार्नुभयो । उहाँले विकास र समृद्धिको आकाङ्क्षामा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।