• ४ जेठ २०८१, शुक्रबार

मलाई मन परेका पाँच चलचित्र

blog

सन्दीप क्षेत्री, कलाकार

बलिदान

यो चलचित्रले देश प्रेमको भावना देखाएको छ । मैले सानो उमेरमै यो चलचित्र हेरेको थिएँ । त्यसले मेरो मानसपटलमा देश, राष्ट्रियताप्रति छुट्टै प्रभाव पारेको थियो । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाहलगायतका कलाकारको अभिनय बेजोड थियो । 

चिनो 

यो चलचित्रका सबै पात्र रमाइलो किसिमका थिए । चलचित्रमा विशेषतः सुनील थापाको चरित्र अझ गजबको छ । चलचित्रको सङ्गीत, कलाकारहरूको अभिनय, कथावस्तु मन छुने किसिमको छ । अहिले पनि बेलाबेलामा यो चलचित्रको सम्झना आउँछ ।

श्री 

यो चलचित्रमा मैले अभिनयको मौका पाएँ । यो चलचित्र मेरो करियरकै एउटा उत्कृष्ट चलचित्र हो । मेरो जीवनकै एउटा अविस्मरणीय चलचित्रका रूपमा ‘श्री’ लाई लिन्छु । सायद अब यस्तो चलचित्र गर्छु या गर्दिनँ थाहा छैन ।

पशुपतिप्रसाद

यो चलचित्रको प्रमुख पक्ष भनेको यसको कथावस्तु हो । चलचित्रमा खगेन्द्र लामिछाने, विपिन कार्कीको अभिनय आफैँमा बेजोड लाग्छ । एउटा युवाको सङ्घर्ष अनि त्यसभित्रको सफलता र असफलताको कुरालाई निर्देशकले निकै गहिरो ढङ्गले प्रस्तुत गरेका छन् ।

जात्रैजात्रा 

हामी सबै परिवारले हेरेको अर्को मनपर्ने चलचित्र ‘जात्रैजात्रा’ हो । यसमा एउटा सानो विषयलाई निर्देशन प्रदीप भट्टराईले कति रोचक ढङ्गले प्रस्तुत गरेका छन् । विशेषतः मलाई चलचित्रमा विपिन कार्कीको क्यारेक्टर उत्कृष्ट लागेको छ ।

 प्रस्तुति : युवराज गौतम