• ६ जेठ २०८१, आइतबार

बोक्सीको आरोपमा मलमूत्र खुवाउने प्रयास

blog

जीवछ यादव

लहान, असार १४ गते  । ‘धेरै दिनपछि बोक्सी आज एक्लै फेला परी । यसलाई मलमूत्र नखुवाई छाड्दैनौँ भन्दै मेरो दुवै हात समाएर भुइँमा लडाएर मुखमा मलमूत्र खुवाउने प्रयास भयो । मैले मुख खोलिन । मुख नखोल्दा दुवै गालामा मुक्काले हिर्काई बेहोस बनाए । बोतलमा ल्याएको मलमूत्र जीउभरि छर्किदिए, आफूमाथि बोक्सीको आरोपमा मलमूत्र खुवाउने प्रयास भएको घटना सुनाउँदै अतिकादेवी कामतले भन्नुभयो । 

भगवानपुर गाउँपालिका–४, ठाडी टोलकी ६० वर्षीया कामत होसमा आएपछि प्रहरी चौकी ठाडीमा यस घटनाको जानकारी दिनुभयो । “इलाका प्रहरी कार्यालय लहानसम्म पुग्न मलाई गाउँका छिमेकीले सहयोग गर्नुभयो,” पीडित अतिकादेवीले भन्नुभयो । 

शनिबार कामतलाई बोक्सीको आरोपमा मलमूत्र खुवाउने प्रयास गरेका कौशिलादेवी र फुलोदेवी घरमा लुकिछिपी बसेको अवस्थामा तत्कालै नियन्त्रणमा लिएको इलाका प्रहरी लहानका प्रहरी नायब उपरीक्षक कुमार मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय लहानको आदेशमा पक्राउ परेका सासू कौशिलादेवी साह र फूलोदेवीमाथि मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको र आरोपित राजेन्द्र साह र महेश साह बाबुछोराको खोजी भइरहेको छ ।

अतिकादेवीका पति हरि कामतका अनुसार २०७८ साल मङ्सिर २२ गते परालको आगोमा राजेन्द्र साहको छ वर्षीया नातिको जलेर मृत्यु भएको थियो । बच्चालाई बचाउन खोज्दा एक जना प्रहरीको समेत हातखुट्टा जलेको थियो । त्यसपछि राजेन्द्र साहका छोराबुहारी धामी झाँक्रीमा जाँदा धामी झाँक्रीले आतिकादेवी बोक्सी हो र उसैले तेरो घरमा सबैमाथि पटक–पटक बोक्सी विद्या गरेर क्षति पु-याएको हो भनेको कुरामा विश्वास गरेर पटक–पटक गालीगलौज र ज्यान मार्ने धम्की दिँदै आइरहेका थिए । 

अत्यन्तै सज्जन र मजदुरी गरेर गुजारा गर्ने मिलनसार स्वभावका कामसँग मात्रै मतलव राख्ने अतिकादेवीमाथि साह परिवारले अन्याय गरेको स्थानीय अवकाश प्राप्त शिक्षक डोमी पासवानले बताउनुभयो । पीडित कामत परिवारले न्याय पाउनुपर्ने स्थानीयले माग राखेका छन् ।