• २३ भदौ २०८२, सोमबार

दुई उत्कृष्ट विद्यार्थीलाई अमरनाथ झा स्मृति पुरस्कार

blog

पुरस्कृत छात्रछात्रासँगै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष र विशिष्ठ अतिथिहरु । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), भदौ २३ गते । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका दुई जना उत्कृष्ट विद्यार्थीलाई अमरनाथ झा स्मृति पुरस्कार-२०८२ प्रदान गरिएको छ ।

अमरनाथ झा मेमोरियल ट्रष्टले दिवङ्गत प्रधानाध्यापक झाको दोस्रो स्मृतिमा सोमबार आयोजना गरेको कार्यक्रममा गत वर्षको एसईईमा उत्कृष्ट अङ्क ल्याउने तिलाठी कोईलाडीका एक छात्र र एक छात्रालाई नगदसहित पुरस्कृत गरिएको हो ।

पुरस्कार पाउने विद्यार्थीमा पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीकी छात्रा पल्लवी ठाकुर र जनता माध्यमिक विद्यालय तोपाका छात्र ओमनारायण यादव रहनु भएको छ । उहाँ दुवै जना एसईई २०८१ मा यस गाउँपालिकाबाट सबैभन्दा बढी ल्याउने छात्रछात्रा हुन् ।

कार्यक्रममा प्रमुख अतिथि तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डल र विशिष्ठ अतिथि समाजसेवी इन्जिनियर शैलेन्द्रमोहन झाले उहाँहरुलाई जनही २५ हजार पाँचसय रुपैयाँ सहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

पुस्तक वितरण कार्यक्रममा दिवङ्गत प्रधानाध्यापक अमरनाथ झा प्रति श्रद्धासुमन अर्पण गर्नुहुँदै अध्यक्ष मंडलले शिक्षाको विकास प्रति सबै जनप्रतिनिधि गम्भिर रहेको बताउनुभयो ।

पालिकाभित्रका १७ वटै विद्यालयमा अहिले जनशक्ति र पूर्वाधारको अभाव नरहेको भन्दै आउने दिनमा राम्रो नतिजा आउने विश्वास व्यक्त गर्नुभयो ।

"यसअघि विद्यालयहरुमा भौतिक पुर्वाधार र शिक्षकको आभाव थियो, अहिले छैन", उहाँले भन्नुभयो, "राम्रो नतिजाका लागि अभिभावकहरुले नियमित विद्यार्थीलाई विद्यालय पठाएर सहयोग गर्नु आवश्यक छ ।"

ट्रष्टका अध्यक्ष अध्यक्षता राजिव झाको अध्यक्षतामा आयोजित पुरस्कार वितरण कार्यक्रममा जसपा केन्द्रिय सदस्य डा बबी सिंह यादव, तिलाठी कोईलाडी गाउँपालिका वडा १ का अध्यक्ष दिनेश्वर मिश्र, वडा नम्बर २ का वडाअध्यक्ष कमल मण्डल पुरस्कार छनोट समिति संयोजक दयाकान्त झा, सदस्य निरज मुक्ति, सल्लाहकार शम्भु झा, लगायतकाले दिवंगत प्रधानाध्यापक झा को शैक्षिक र सामाजिक योगदानबारे चर्चा गर्नुभयो ।