लीलाधर वली
घोराही, भदौ २३ गते । घोराही उपमहानगरपालिका–५, नैनवार निवासी भरत चौधरी करिब छ वर्षअघिसम्म आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता थियो । गाउँमा सिँचाइको सुविधा नहुँदा बर्खामा धान खेती गर्दा आवश्यक पानीदेखि हिउँदमा कृषि बालीका लागि सिँचाइ गर्ने सुविधा नहुँदा समस्या हुने गरेको थियो ।
गाउँमा भूमिगत पानीलाई उपभोग गरेर सिँचाइ गर्नेगरी डिप बोरिङ निर्माणसँगै सञ्चालनमा आएपछि अहिले समस्या हटेको किसान चौधरी बताउनुहुन्छ । घरआँगनमै सिँचाइको सुविधा भएपछि खेती गर्नलाई सहज हुनुका साथै उत्पादनमा समेत वृद्धि भएको चौधरी बताउनुहुन्छ । सिँचाइका लागि डिप बोरिङले कृषि काम गर्न सहज भएको भन्दै किसान चौधरी भन्नुहुन्छ, ‘सिँचाइको व्यवस्था नहुँदा समयमा खेती गर्न सकिँदैनथ्यो, गरेको खेतीमा सिँचाइ गर्न नपाउँदा उत्पादनसमेत राम्रो नहुने समस्या थियो तर अहिले त्यो समस्या हटेका छ । समयमै खेती गर्नाले उत्पादन समेत बढ्ने गरेको छ ।’
डिप बोरिङ सञ्चालन भएपछि किसान चौधरीलाई जस्तै खेती गर्न सहज भएको सोही ठाउँ निवासी गोपाल भण्डारी बताउनुहुन्छ । उहाँले सिँचाइ सुविधा नहुँदा वर्षमा एक बाली मात्र खेती हुने ठाउँमा बाह्रै महिना खेती हुन थालेको बताउनुभयो । पानीको सुविधा नहुँदा गाउँका धेरै किसानले धान खेती गरेर हिउँदमा जमिन बाँझै राख्ने गरे पनि अहिले सिजन अनुसार धान, तोरी, मसुरो, मकैलगायतका विभिन्न खेती गर्न थालेको बताउनुहुन्छ ।
गाउँमा डिप बोरिङ निर्माण भएपछि धेरै किसानलाई कृषि व्यवसायसँगै पशुपालन गर्न सहज भएको लालपखने डिप बोरिङ सिँचाइ उपभोक्ता समितिका अध्यक्ष टीकाराम वली बताउनुहुन्छ । अध्यक्ष वलीका अनुसार २०७३ सालमा डिप बोरिङ खनेर २०७६ सालदेखि सञ्चालनमा आएको सिँचाइ आयोजनाबाट नैनवार र डाँगीगाउँको करिब ३४ बिघा क्षेत्रफल जमिनमा सिँचाइ हुने गरेको छ ।
नैनवारमा जस्तै जिल्लामा भूमिगत जलका माध्यमबाट १६ हजार चार सय ६१ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय लमहीका अनुसार जिल्लाका विभिन्न स्थानमा खनिएका डिप ट्युबवेलका माध्यमबाट १० वर्षको अवधिमा १६ हजार चार सय ६१ दशमलव ३३ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय लमहीका सब इन्जिनियर यमप्रसाद शर्माका अनुसार आर्थिक वर्ष २०७१-०७२ देखि ०८०-०८१ सम्म जिल्लामा खनिएका दुई सय ४५ वटा डिप ट्युबवेलबाट करिब छ हजार पाँच सय ३३ दशमलव ३३ हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ । उहाँका अनुसार एउटा डिप ट्युब वेल बराबर ३५ देखि ४० बिघा जमिनमा सिँचाइ हुने गरेको छ ।
यसैगरी सब इन्जिनियर शर्माका अनुसार जिल्लामा पावर ड्रिल स्यालो ट्युब वेल चार सय ३१ वटा र म्यानुअल स्यालो ट्युब वेल तीन हजार दुई सय ९२ वटा खनिएका छन् । पावर ड्रिल स्यालो ट्युबवेल अन्तर्गत करिब एक हजार एक सय ४९ दशमलव ३३ हेक्टर र म्यानुअल स्यालो ट्युबवेल अन्तर्गत आठ हजार सात सय ७८ दशमलव ६७ हेक्टर जमिनमा सिँचाई सुविधा विस्तार भएको छ ।
उहाँका अनुसार खास गरी देउखुरी क्षेत्रमा पावर ड्रिल स्यालो ट्युववेल र म्यानुअल स्यालो ट्युबवेल धेरै खनिएका छन् । जिल्लाको ६९ हजार नौ सय ५० हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ हजार नौ सय ८० हेक्टर क्षेत्रफल जमिनमा विभिन्न प्रकारको खेती हुने गरेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।