वृद्ध अवस्था, जीवनयात्राको महत्वपूर्ण र स्वाभाविक चरण हो । जो अनुभवले खारिएको हुन्छ । ज्ञानको प्रकाशले जीवनलाई एक विशिष्ट गहिराइ प्रदान गरेको हुन्छ । यो जीवनको मध्यान्तरपछि आउने परिपक्वताको चरण हो, जसलाई सम्मान र श्रद्धाको दृष्टिले हेरिनु पर्छ । शारीरिक क्षमतामा क्रमशः आउने ह्रास, स्वास्थ्यसम्बन्धी अनेकन जटिलता र तीव्र गतिमा परिवर्तित सामाजिक, आर्थिक परिवेशले गर्दा यो अवस्था कतिपयका लागि चुनौतीपूर्ण पनि बन्न पुगेको छ । नेपाल, विकासोन्मुख राष्ट्रका रूपमा, जनसाङ्ख्यिक सङ्क्रमणको प्रक्रियाबाट गुज्रिरहेको छ, जहाँ ज्येष्ठ नागरिक (सामान्यतया ६० वर्ष वा सोभन्दा माथिका व्यक्ति) को जनसङ्ख्या र कुल जनसङ्ख्यामा उनीहरूको अनुपात निरन्तर वृद्धि भइरहेको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार, नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या कुल जनसङ्ख्याको लगभग १०.२१ प्रतिशत, अर्थात् करिब २९ लाख ८० हजार ७०४ पुगेको छ । यो सङ्ख्यात्मक वृद्धिले उनीहरूको मर्यादित जीवन, स्वास्थ्य, सामाजिक सुरक्षा, र समग्र कल्याणका विषयमा गम्भीर नीतिगत बहस र व्यावहारिक हस्तक्षेपको अपरिहार्यतालाई उजागर गरेको छ । औसत आयुमा भएको वृद्धि र जन्मदरमा आएको कमीले नेपाललाई क्रमशः ‘वृद्धउन्मुख समाज’ तर्फ डो¥याइरहेको छ, जसले भविष्यमा सामाजिक, आर्थिक र स्वास्थ्य प्रणालीमा थप तयारीको माग गर्छ ।
जीवनको अधिकांश ऊर्जाशील समय राष्ट्र र परिवारको उन्नति र प्रगतिका लागि अथक परिश्रम गरेका बहुसङ्ख्यक ज्येष्ठ नागरिक जीवनको उत्तरार्धमा पुग्दा आर्थिक रूपले परनिर्भर बन्नुपर्ने कटु वास्तविकता भोगिरहेका छन् । नियमित आयआर्जनका स्रोत सुक्दै जानु, सञ्चित बचत सकिनु र शारीरिक अशक्तताका कारण नयाँ आर्थिक गतिविधिमा संलग्न हुन नसक्नुले उनीहरूलाई गम्भीर आर्थिक असुरक्षा भएको आभास हुन्छ । सीमित सङ्ख्यामा रहेका सङ्गठित क्षेत्र (विशेषतः सरकारी सेवा) बाट निवृत्त व्यक्तिहरूले पाउने पेन्सनबाहेक अधिकांश ज्येष्ठ नागरिकसँग कुनै भरपर्दो र नियमित आर्थिक आधार हुँदैन ।
नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत प्रदान गर्दै आएको ‘ज्येष्ठ नागरिक भत्ता’ सराहनीय कदम भए पनि यसको रकम महँगी र स्वास्थ्य उपचार खर्चका तुलनामा न्यून छ । विसं २०७९/८० को बजेट अनुसार ६८ वर्ष पुगेका नागरिकलाई मासिक चार हजार रुपियाँ भत्ता दिने व्यवस्था छ । यो रकम जीवनयापनका लागि अपर्याप्त छ भन्ने गुनासो छ । जीवनभरको कठोर तपस्या र योगदानपश्चात् पनि आर्थिक अभाव र परनिर्भरताको पीडामा बाँच्नुपर्दा उनीहरूको आत्मसम्मानमा गहिरो चोट पुग्छ, बाँकी जीवन थप कष्टप्रद बन्छ ।
उमेरगत परिवर्तनसँगै शरीरका अङ्गप्रत्यङ्ग क्रमशः शिथिल हुँदै जानु र विभिन्न स्वास्थ्य समस्याले गाँज्नु प्राकृतिक नियम हो । उच्च रक्तचाप, मधुमेह, दम, जोर्नी तथा हाड खिइने समस्या (अर्थराइटिस), मुटुसम्बन्धी रोग, दृष्टि तथा श्रवण शक्तिमा कमी, र स्मृति क्षय (अल्जाइमर्स, डिमेन्सिया) जस्ता दीर्घकालीन र जटिल प्रकृतिका रोग ज्येष्ठ नागरिकमा आमरूपमा देखिन्छन् । यी स्वास्थ्य समस्याको सहज, सुलभ र गुणस्तरीय उपचार सेवामा उनीहरूको पहुँचको छैन । अधिकांश सरकारी स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा, विशेष गरी ‘जेरियाट्रिक वार्ड’ (ज्येष्ठ नागरिक उपचार कक्ष) र विशेषज्ञ चिकित्सकको अभाव छ । दक्ष जनशक्ति, आधुनिक उपकरण र आवश्यक औषधीको अपर्याप्तताले गुणस्तरीय सेवा प्रवाह हुन सकेको छैन । निजी क्षेत्रका अस्पतालको सेवा अत्यधिक महँगो हुँदा आमज्येष्ठ नागरिकको पहुँचभन्दा बाहिर छ ।
भौगोलिक विकटता, यातायातको असुविधा, आर्थिक अभाव र कतिपय अवस्थामा परिवारको बेवास्ताका कारण धेरै वृद्धवृद्धा रोग लुकाएर बस्न वा परम्परागत र घरेलु उपचारमा निर्भर छन् । नियमित स्वास्थ्य परीक्षण, परामर्श र उचित औषधोपचारको अभावले सामान्य रोग पनि जटिल बन्दै गएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ ।
ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले नेपालमा ‘ज्येष्ठ नागरिक ऐन, २०६३ र ज्येष्ठ नागरिक नियमावली, २०६५’ लगायतका कानुनी प्रावधान तर्जुमा गरिएका छन् । यी कानुनले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने, उचित हेरचाह, संरक्षण र स्याहारसुसार पाउने, आफ्नो सम्पत्तिमाथिको अधिकार सुरक्षित रहने र कुनै पनि प्रकारको दुव्र्यवहार, हिंसा वा उपेक्षाविरुद्ध कानुनी उपचार पाउने हक सुनिश्चित गरेका छन् । सामाजिक सुरक्षा योजना अन्तर्गत ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरिएको छ । तथापि, यी कानुनी र नीतिगत व्यवस्थाको प्रभावकारी र सार्थक कार्यान्वयनको पक्ष भने फितलो देखिन्छ । जनचेतनाको अभाव, सम्बन्धित निकायको उदासीनता, स्रोतसाधनको अपर्याप्तता र अनुगमन प्रणालीको कमजोरीले गर्दा अधिकांश ज्येष्ठ नागरिकले कानुनप्रदत्त अधिकार पूर्ण रूपमा उपभोग गर्न सकिरहेका छैनन् । राज्यको भूमिका केवल नीति र कानुन निर्माणमा मात्र सीमित नभई, तिनको सशक्त, परिणाममुखी र निरन्तर अनुगमनसहितको कार्यान्वयनमा केन्द्रित हुनु पर्छ ।
नेपाली ज्येष्ठ नागरिकले भोग्नु परेका समस्या एकअर्कासँग जेलिएका र बहुआयामिक प्रकृतिका छन् । शारीरिक, मानसिक, आर्थिक, सामाजिक र भावनात्मक रूपमा उनीहरू विभिन्न प्रकारका हिंसा, दुव्र्यवहार, अपमान, घृणा र उपेक्षाको शिकार भइरहेका छन् । सन्तानले सम्पत्ति आफ्नो नाममा पारेपछि घरबाट निकाला गर्ने, उचित खानपान र स्याहार नगर्ने, दुर्वचन बोल्ने, भावनात्मक रूपमा चोट पु¥याउने जस्ता अमानवीय घटना समाजमा दिनहुँजसो भइरहेका छन् । एक्लोपन, नैराश्य, चिन्ता, हीनताबोध र स्मृतिभ्रंश जस्ता गम्भीर मानसिक स्वास्थ्य समस्याले उनीहरूको जीवनलाई थप अँध्यारो र कष्टकर बनाएको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था वा स्वास्थ्य सेवा केन्द्रहरूमा समेत ज्येष्ठ नागरिकमैत्री वातावरण, व्यवहार र पूर्वाधारको अभाव टड्कारो रूपमा खड्किन्छ । ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित, सम्मानित र सक्रिय बनाउन व्यक्ति, परिवार, समाज र राज्यस्तरबाट समन्वयात्मक र बहुआयामिक प्रयासको थालनी गरिनु अपरिहार्य छ ।
परिवार नै ज्येष्ठ नागरिकको पहिलो र सबैभन्दा महत्वपूर्ण सामाजिक सुरक्षा कवच हो । सन्तानले आफ्ना वृद्ध अभिभावकप्रति अगाध स्नेह, आदर, सम्मान, पर्याप्त समय, उचित हेरचाह र भावनात्मक सामीप्यता प्रदान गर्नु पर्छ । उनीहरूका अनुभव, ज्ञान र विचारलाई कदर गर्दै पारिवारिक निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनु पर्छ ।
सरकारले ज्येष्ठ नागरिककेन्द्रित नीति, योजना र कार्यक्रम तर्जुमा गरी तिनको प्रभावकारी र परिणाममुखी कार्यान्वयनमा जोड दिनु पर्छ । सामाजिक सुरक्षा भत्तालाई समयसापेक्ष र जीवनयापन योग्य बनाउने, निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने, प्रत्येक स्वास्थ्य संस्थामा जेरियाट्रिक वार्ड र विशेषज्ञ सेवा विस्तार गर्ने, र उनीहरूका कानुनी अधिकारको पूर्ण संरक्षण गर्नु पर्छ । ज्येष्ठ नागरिकप्रतिको परम्परागत श्रद्धा र सम्मानको भावनालाई पुनर्जागृत गर्न व्यापक सामाजिक जागरण अभियान सञ्चालन गर्नु पर्छ । विद्यालय तथा महाविद्यालयको पाठ्यक्रममा अग्रजको सम्मान, हेरचाह र सामाजिक सुरक्षासम्बन्धी नैतिक शिक्षा र मानवीय मूल्य समावेश गरिनु पर्छ । विभिन्न अन्तरपुस्ता संवाद, अन्तक्र्रिया र सहकार्यका कार्यक्रम आयोजना गरी युवा र वृद्धबिचको सम्बन्धलाई सुमधुर, प्रगाढ र सम्मानजनक बनाउन सकिन्छ ।
ज्येष्ठ नागरिकलाई उमेर सुहाउँदो शारीरिक व्यायाम, योग, ध्यान, सामाजिक तथा स्वयंसेवी गतिविधिमा सक्रिय रूपमा सहभागी हुन प्रेरित गर्नु पर्छ । यसले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई तन्दुरुस्त राख्न मद्दत पु¥याउँछ । जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्छ । स्थानीय सरकारहरूले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकको तथ्याङ्क अद्यावधिक गरी उनीहरूको अवस्था अनुसार समुदायमा आधारित दिवा सेवा केन्द्र, स्वास्थ्य शिविर, परामर्श सेवा, मनोरञ्जनात्मक तथा ज्ञानबर्धक कार्यक्रम सञ्चालन गरी उनीहरूलाई सक्रिय, सम्मानित र उत्पादनशील जीवनयापनमा सहयोग पु¥याउन सक्छन् ।
ज्येष्ठ नागरिक विगतका साक्षी, वर्तमानका मार्गदर्शक र भविष्यका प्रेरणास्रोत हुन्; उनीहरू समाजका अमूल्य निधि र जीवन्त इतिहास हुन् । उनीहरूले आफ्नो जीवनको सम्पूर्ण ऊर्जा, ज्ञान, सिप र अनुभव परिवार, समाज र राष्ट्र निर्माणको यज्ञमा समर्पित गरेका हुन्छन् । जीवनको उत्तरार्धमा उनीहरूले भौतिक सुखसुविधाभन्दा बढी स्नेह, सम्मान, सामीप्यता र भावनात्मक सहाराको अपेक्षा राखेका हुन्छन् । उनीहरूलाई बोझ सम्झनु वा उपेक्षा गर्नु मानवीय संवेदना र कृतज्ञताको उपहास हो । उनीहरूको ज्ञान, अनुभव, आशीर्वाद र मार्गदर्शनले नै हाम्रो समाजलाई नैतिकवान, समृद्ध र सुसंस्कृत बनाउँछ ।
प्रत्येक व्यक्ति, परिवार, समुदाय, सामाजिक सङ्घ संस्था र राज्यका सबै अङ्गले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण, मर्यादित जीवन र सर्वाङ्गीण कल्याणलाई आफ्नो पवित्र नैतिक, मानवीय र सामाजिक दायित्व सम्झेर पूर्ण निष्ठा र समर्पणका साथ अघि बढ्नु आजको युगीन आवश्यकता हो । जबसम्म हामी अग्रजलाई स्नेह, श्रद्धा र सम्मानको जलले सिञ्चित गर्दैनौँ, तबसम्म सभ्य, मानवीय र न्यायपूर्ण समाजको हाम्रो परिकल्पना अधुरै रहने छ । उनीहरूको सन्तुष्ट मुस्कान र आशीर्वचनमा नै हाम्रो समाज र राष्ट्रको उज्ज्वल भविष्यको प्रतिविम्ब लुकेको हुन्छ ।