गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १७ गते । सरकारले यही भदौ ३० देखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । सरकारले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विगतका वर्षमा झैँ विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय अनुसार खाद्य व्यवस्था कम्पनीले दसैँतिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरमा १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासहित देशका ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार खाद्य कम्पनीबाट सञ्चालन हुने सहुलियत मूल्य पसलबाट विभिन्न खाद्यवस्तुमा प्रतिकेजी दुई रुपियाँदेखि १० रुपियाँसम्म छुट दिइने छ ।
कम्पनीका बिक्रीवितरण विभागका प्रमुख भीमबहादुर थापाले गएको साउन २६ गते नै खाद्य कम्पनीबाट खाद्यवस्तुमा छुट गरिने मूल्य, पसलको सङ्ख्या र सञ्चालन गरिने पसलका स्थानसहितको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको जानकारी गराउनुभयो । सरकारको मन्त्रीस्तरको निर्णय अनुसार उक्त प्रस्ताव स्वीकृत भएसँगै उद्योग मन्त्रालयले निर्णय सोमबार कम्पनीमा पठाएको पनि उहाँले जानकारी गराउनुभयो ।
कम्पनीका अनुसार खाद्य व्यवस्थाले कोशी प्रदेशमा ११ स्थान, मधेश प्रदेशमा तीन स्थान, बागमती प्रदेशमा पाँच स्थानमा सहुलियत मूल्य सञ्चालन गर्ने छ । यस्तै गण्डकी प्रदेशमा सात स्थान, लुम्बिनी प्रदेशमा १५ स्थानमा खाद्य कम्पनीका सहुलियत मूल्य पसल सञ्चालन गरिने जनाएको छ । साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित गरी १४ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनको तयारी गरेको छ । कर्पोरेसनले चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुट गरेको जनाएको छ ।
कर्पोरेसनका अनुसार काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जावलाखेल, स्वयम्भूका बिक्री केन्द्रबाट ती वस्तु छुटमा उपलब्ध गराउँदै छ । त्यसबाहेक माग आएका ठाउँमा तीन वटा मोबाइल भ्यानमार्फत पनि ती वस्तु उपलब्ध गराउने कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाबाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका मागका आधारमा पनि सेवा दिन सकिने गरी तयारी गरिएको छ ।