• ३० वैशाख २०८१, आइतबार

फोरजीमा छलाङ

एक वर्षमै एक करोड प्रयोगकर्ता थपिए

blog

काठमाडौँ, असार १२ गते । नेपालमा फोरजी सार्वजनिक भएको पाँचौँ वर्षमा मात्रै यसका प्रयोगकर्ताको सङ्ख्या व्यापक बढेको छ । दूरसञ्चार सेवा प्रदायकले फोरजी पु-याउन गरेको लगानी र नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सन् २०२२ भित्र देशैभर यो प्रविधि पु-याउन दिएको समयसीमाको प्रभाव यतिबेला फोरजीमा देखिन थालेको छ । 

नियामकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७८ चैतसम्म देशभर फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड ७१ लाख नाघेको छ, जुन २०७७ चैतको तुलनामा करिब एक करोडले बढी हो । त्यतिबेला देशभर फोरजी प्रयोग गर्नेको सङ्ख्या ७८ लाख ७१ हजार थियो ।

थ्रीजी प्रविधिको तुलनामा फोरजीलाई सेवा प्रदायकले दिएको प्राथमिकताले पनि फोरजी प्रयोगकर्ताको सङ्ख्या बढाउन सहयोग पुगेको हो, जसको परिणाम देशभर थ्रीजीको तुलनामा फोरजी प्रयोग गर्नेको सङ्ख्या निकै बढी छ । पछिल्लो तथ्याङ्कअनुसार थ्रीजी प्रयोगकर्ताको सङ्ख्या एक करोड १५ लाख छ । फोरजीको तुलनामा यो ५६ लाखले कम हो । 

देशभर सबैभन्दा धेरै नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता रहेको नियामकको तथ्याङ्कले देखाउँछ । चैतसम्म टेलिकमको फोरजी एक करोड चार लाखले चलाइरहेका छन् । त्यस्तै एनसेलका ६५ लाख २२ हजार फोरजी प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमका भने एक लाख ५९ हजार मात्र फोरजी प्रयोगकर्ता रहेको तथ्याङ्क छ । फोरजीको विस्तार बढिरहे पनि यसको गुणस्तरको सम्बन्धमा भने प्रयोगकर्ताको गुनासो कायमै छ । 

आईएसपीले थपे २० लाख ग्राहक

अनलाइन गतिविधि बढ्दा त्यसको प्रत्यक्ष लाभ नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई पुगेको छ । फिक्स्ड इन्टरनेटमा निजी सेवा प्रदायकले विस्तार गरेको बजारले पनि यसलाई पुष्टि गर्छ । गत एक वर्ष मात्रै निजी सेवा प्रदायकले करिब २० लाख ग्राहक थपेका छन् । २०७७ चैतसम्म ५५ लाख ६२ हजार ग्राहक रहेकामा निजी कम्पनीले २०७८ चैतसम्म ७४ लाख ९४ हजार ग्राहक पु-याएका छन् । 

यसै अवधिमा नेपाल टेलिकमले साढे दुई लाख फिक्स्ड इन्टरनेट प्रयोगकर्ता थपेको छ । चैतसम्म टेलिकमका सात लाख ६१ हजार फिक्स्ड इन्टरनेट प्रयोगकर्ता रहेका छन्, जुन २०७७ चैतसम्म पाँच लाख १५ हजार मात्र थियो । फिक्स्ड इन्टरनेटमा एउटा इन्टरनेट जडान करिब पाँच जना ग्राहकले प्रयोग गर्ने हिसाबले प्रयोगकर्ताको तथ्याङ्क राखिन्छ । 

मोबाइल, फिक्स्ड, एडीएसएल, वाईम्याक्स, लिज लाइनलगायत सबै किसिमका इन्टरनेट सुविधासहित गरी देशभर इन्टरनेटको पहुँच भने १२८.८६ प्रतिशत अर्थात् कुल जनसङ्ख्याभन्दा बढीमा पुगेको देखिन्छ । यसमध्ये ९८.४६ प्रतिशतले मोबाइल इन्टरनेट प्रयोग गर्छन् भने ३० प्रतिशतले फिक्स्ड इन्टरनेटको प्रयोग गर्ने पाइएको छ । मोबाइल र फिक्स्ड इन्टरनेट प्रयोग गर्ने एउटै प्रयोगकर्ताको समेत भिन्नै गणना हुने भएकाले इन्टरनेट पहुँच बढी देखिएको हो ।