• १७ असार २०८१, सोमबार

चालीस घरधुरीलाई एउटा धारो

blog

सिन्धुलीमाढी, असार १२ गते । सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका मुसहर समुदाय खानेपानीका लागि वर्षाको मौसममा समेत सास्ती व्यहोर्न बाध्य छन् ।चालीस घरपरिवार गाउँको बीचमा रहेको एउटा खानेपानीको धाराबाट दैनिक गुजारा टार्नुपर्ने अवस्था रहेको छ । स्थानीय गङ्गा सदाले ४० घरपरिवारका लागि एउटा मात्र धारो हुँदा कहिलेकाहीँ खानेपानीका लागि स्थानीय बासिन्दाबीच झगडासमेत हुने गरेको सुनाउनुहुन्छ ।

उहाँले भन्नुभयो, “गाउँको बीचमा एउटा धारो छ, त्यो पनि नियमित आउँदैन । दिन बिराएर जस्तो आउँछ । आएको बेला पनि छोटो समय आउँछ । पानी आएको बेला कसले पहिले भाँडा भर्ने भनेर तँछाड मछाड नै हुन्छ ।’ उहाँ आफू विवाह गरी आएको ११ वर्ष भएको र अहिलेसम्म नै खानेपानीको सास्ती व्यहोर्दै आएको बताउनुहुन्छ ।

गाउँमा भएका इनारसमेत सुक्नाले खानेपानीको समस्या व्यहोर्दै आउनु परेको उहाँको भनाइ छ । उहाँका अनुसार घरबाट नजिकको खोलामा गएर पानी ल्याउन एक घण्टा जति समय लाग्छ । केही दिनअघि मात्र टाउकोमा बोेकेर ल्याएको पानी घर नजिक आएपछि ठेस लागेर पोखिएको र गाग्री कुचिएको उपभोक्ता सदाले सुनाउनुभयो ।

गाउँको बीचमा एउटा धारो छ, त्यो पनि नियमित आउँदैन । दिन बिराएर जस्तो आउँछ । आएको बेला पनि छोटो समय आउँछ । पानी आएको बेला कसले पहिले भाँडा भर्ने भनेर तँछाडमछाड नै हुन्छ ।

त्यस्तै मुसहर समुदायकी अगुवा आशा सदाले पानीको धेरै समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई-तीन घण्टा पानी आउँछ एउटा धारो छ । यसले मान्छेलाई पुग्दैन ।’ मानिसले नुहाउन, लुगा धुन र पशु चौपायाका लागि पानी खोज्दै नजिकको खोलामा जाने गरेको उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार मुसहर समुदाय सबैको घरमा जनता आवास कार्यक्रमअन्तर्गत सौचालयसमेत छ । पानीको अभावमा सौचालय सफा गर्न नपाएपछि स्थानीयवासी दिसा, पिसाब गर्न घर छेउको जङ्गलमा जाने गरेका छन् । पानीको अभावले सरसफाइ गर्न नसक्दा स्थानीयलाई बेलाबेलामा झाडापखालाको समस्या देखिने गरेको छ । घण्टौँ लगाएर ल्याएको खोला र खोल्साको पानी पिउन योग्य नभएको उहाँको भनाइ छ ।‘एक घर एक धारा’ भन्ने स्थानीय सरकारको नीति तथा कार्यक्रम भए पनि यहाँका उपभोक्ताले पहिलो स्थानीय सरकारको कार्यकालमा यो अनुभव गर्न नपाएको गुनासो गरेका छन् । 

दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारीले स्थानीय सरकारको नीति तथा कार्यक्रम ‘एक घर एक धारा’ लाई कार्यान्वयनमा जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “समस्या कति भूगोल, समुदायमा छ ? यसको सम्भाव्यता अध्ययनका साथै डीपीआर तयार गरेर जति सक्दो चाँडै नगरभित्र देखिएको खानेपानीको समस्याहरू समाधान गर्नेछौँ ।”