• ७ जेठ २०८१, सोमबार

सामूहिक स्याउ र ओखर खेतीमा युवा

blog

फार्ममा लगाएका स्याउका बिरुवा ।तस्बिर : राजन रावत

हुम्ला, असार १२ गते । नाम्खा गाउँपालिका–१, हेक्पा गाउँका युवाले व्यावसायिक रूपमा स्याउ र ओखर खेती सुरु गरेका छन् । सानासाना टुक्रा जग्गामा बिरुवा लगाउनुभन्दा जग्गाको चक्लाबन्दी गरेर धेरै क्षेत्रफलका एक साथ व्यावसायिक खेती गर्नु लाभदायक हुने भएकाले युवा त्यसतर्फ लागेका हुन् । हेक्पा गाउँका युवा पासाङ लामाले अरू युवासँग मिलेर खेर गएको जग्गामा स्याउ र ओखर खेती सुरु गरेको बताउनुभयो । गत वर्षदेखि सो खेती सुरु गरिएको हो । 

उहाँले ओखर र स्याउका छुट्टाछुट्टै प्लट बनाएर बिरुवा लगाउनुभएको छ । साढे छ सय ओखरका बिरुवा र दुई हजार पाँच सय स्याउका बिरुवा हुर्कने क्रममा रहेको लामाले बताउनुभयो । फार्ममा लगाएका बिरुवासमेत स्थानीयस्तरमा फार्ममै उत्पादन गरिएका हुन् । अझै पाँच सयभन्दा बढी बिरुवा तयारी अवस्थामा रहेको र अर्को वर्ष लगाउने उहाँले बताउनुभयो ।

उहाँले लगाएका बिरुवा ९५ प्रतिशतभन्दा बढी राम्रोसँग विकास भइरहेको बताउनुभयो । ओखर स्याउ लगाएको जग्गामा घेराबार, सिँचाइ, चौकीदार र चौकीदार बस्ने भवनको व्यवस्था गरिएका कारण बाँझो जमिनमा बिरुवा लगाउन सफल भएको बताउँदै उहाँले व्यावसायिक रूपमा खेती गर्नकै लागि यो प्रयास गरिएको बताउनुभयो । 

कृषि विकास कार्यालयका प्रमुख बखत खड्काले चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रमअन्तर्गत उक्त प्रमोद पशुपालन, कृषि तथा जडीबुटी फार्मलाई कार्यालयले सहयोग गरेको बताउनुभयो । यो फार्म जिल्लाकै उत्कृष्ट स्याउ र ओखर फार्म बनेको बताउँदै उहाँले ठूलो सङ्ख्यामा बिरुवा लगाउने फार्म बनेको बताउनुभयो ।

यसका लागि कार्यालयले २५ लाख रुपियाँ बजेट खर्च गरेको र यस वर्ष पनि केही बजेट खर्च गरिने उहाँले बताउनुभयो । उक्त फार्मका लागि कुल ५४ लाख रुपियाँ बजेट खर्च भएको र बाँकी लामाकै समूहले व्यक्तिगत लगानी गरेको छ । उक्त फार्म नजिक सडकसमेत निर्माण भइसकेको र कर्णाली कोरिडोरको सिमकोट–हिल्सा खण्डको पनि नजिक पर्छ ।