• ८ मंसिर २०८१, शनिबार

बिग्रँदो पर्यावरणप्रति विश्वको चिन्ता

blog

बिग्रँदो पर्यावरणको निजीस्तरको चिन्ता, आधा अधुरा सरकारी सङ्कल्प, मन नलागी नलागी गरिएका संस्थागत प्रयास र अन्तर्राष्ट्रिय सम्बन्धमा सामूहिक हित बन्नुको साटो कूटनीतिक टक्करको हिस्सा बन्नाले कैयौँ पटक अन्तर्राष्ट्रिय पर्यावरण दिवसका यस्ता आयोजना निष्फलजस्तै बनेको पाइएको छ ।

पर्यावरण दिवस मनाउँदै गर्दा अहिलेसम्म भए/गरिएका पहलको समीक्षा गर्दा के आभास हुन्छ भने यस विषयमा गम्भीरतापूवर्क अझै धेरै कुरा गर्न बाँकी छ । हरेक वर्ष ५ जुनका दिन मनाइने गरिएको विश्व पर्यावरण दिवसमा बेग्लाबेग्लै विषय केन्द्रित हुने गर्दछ । यस वर्ष (सन् २०२२) को विषय ‘पृथ्वी एउटा मात्र छ’ भन्ने थियो ।

अहिलेसम्म वैज्ञानिक खोजकर्ताले भनेका छन्– यो धरती स्वयंमा निकै अनौठो छ । अहिलेसम्म उपलब्ध ज्ञानका अनुसार जीवन भन्ने कुरा यही धरतीमा मात्रै हुर्किन पाएको छ र हुर्किरहेको छ । मानिसले विज्ञानको खोज अनुसन्धानबाट अहिलेसम्म जुटाइएका प्रामाणिक ज्ञान र जानकारीले यही नै भन्छ ।

आज हामीले यो पृथ्वीमा जस्तो किसिमले जीवन बँचिरहेका छौँ र संसार देखिरहेका छौँ, त्यसका लागि यो पृथ्वीले करोडौँ वर्षको सङ्घर्षलाई झेलिसकेको छ । करिब–करिब १३ अर्ब वर्षपहिला एक महाविस्फोट अर्थात् ‘बिग ब्याङ्ग’बाट बनेको ब्रह्माण्डका साथ यो पृथ्वी आएको भन्छन् वैज्ञानिक खोजकर्ता तर त्यसमा ग्यास, धुलो र धुवाँ मात्र रहेको थियो ।

कालान्तरमा गएर यो बन्दै गरेको पृथ्वी पग्लिएको लाभाको गोलाजस्तो बन्यो । त्यो बिस्तारै बिस्तारै चिसो हुँदै गयो । यसरी नै अन्य विभिन्न ग्रह, उपग्रह तथा क्षुद्र ग्रहसँग ठोक्किने र अनेकौँ विस्फोट हुने प्रक्रियाबाट गुज्रँदै जाने क्रममा यो हामी बसेको पृथ्वीको बेग्लै अस्तित्व बन्न पुग्यो । खरानी, धुवाँ आदिबाट वाद तथा अन्य विभिन्न अवधिमा आएका कम्तीमा तीनवटा हिम युगका बीचबाट बाटो बनाउँदै यो पृथ्वीले सायद यस कारण जीवन्त रहनु परेको होला कि यसको भागमा वनस्पति र प्राणी जगत्को जीवन विकसित गर्ने जिम्मेदारी बनेको थियो । यसमा करोडौँ वर्षका वर्षाले निर्मित भएका समुद्र र अन्य जलभण्डार (वाटर बडिज)का बीच वनस्पतिको संसार विकसित भयो ।

अथाह गहिरा समुद्रको अन्धकारमा एक कोषीय जीवबाट प्राणी जगत्को हलचल सुरु भयो होला । त्यसपछि सूर्यका तापले ऊर्जा प्राप्त गर्नुपर्ने आवश्यकताले जीवजन्तु पानीबाट बाहिर निस्केर आउन थाले । यसै समयबाट जैव विविधताको नयाँ युग संसारमा सुरु भयो । त्यो लाखौँ किसिमका नश्लहरूको कारक बन्न पुग्यो । यसै क्रममा आकाशबाट खसेको एउटा भयानक ठूलो चट्टान पृथ्वीसँग टकराउन जाँदा कैयौँ वर्षसम्म पूरै पृथ्वीमा राज गर्ने गरेको डायनासोर नामको भयानक जीव एकएक लोप हुन पुगे । अनि मुसा आकारका स्तनधारी जीव धुलोबाट बाहिर निस्केर आफ्नो विकास गर्न थाले । अनि यस स्थितिबाट पनि क्रमशः अझ अगाडि बढेर कैयौँ किसिमका वनमान्छेमध्येको एउटा प्रजाति ‘होमो स्यापियन्स’ उत्पन्न हुन पुग्यो । जुन आजको मनुष्य जातिको पूर्खा मानिन्छ । 

वैज्ञानिकको निष्कर्षअनुसार पृथ्वी र त्यसमाथि प्राणी तथा वनस्पतिको जीवन अहिलेसम्म करोडौँ वर्ष बाँकी नै छ । यद्यपि विश्वप्रसिद्ध खगोलशास्त्री स्टेफिन हकिन्सको यस सम्बन्धमा के मान्यता रहेको थियो भने मानिस पृथ्वीको विनाशका लागि सायद यति लामो समय (करोडौँ वर्ष)को प्रतीक्षा गर्न चाहँदैन । उनका अनुसार यसका लागि अब केही वर्ष मात्र बाँकी छन् । यस प्रकारका अनुमान र अड्कल अन्य अनुसन्धानरत वैज्ञानिकले पनि लगाइरहेका छन्, लगाइसकेका पनि छन् । यस प्रकारको अनुमान र आशङ्काको मूल कारण र आधार तीव्र गतिले बिगँ्रदो पर्यावरण समस्या नै हो ।

औद्योगिक गतिविधि, खनन–उत्खनन, कङ्क्रिटीकरण तथा बढ्दो सहरीकरणका कारणले तीव्र गतिमा काटिँदो वन जङ्गल र खुम्चिँदै गएको हरियाली, नदीनाला सुकेर जाने गरेको स्थिति, पुरिँदै र सुक्दै गएका तालतलैया, कुवा आदि अजङ्गका यन्त्रले लगाइने गरेका पर्खाल, अन्धाधुन्ध दोहनबाट गिर्दै गरेको जल स्तर, बढ्दो गर्मीले पग्लिँदै गएका हिम नदीसम्मको प्रभावले हामीले आज जलवायु परिवर्र्तनको बढ्दो समस्या झेल्नु परेको छ, यो क्रम बढ्दो छ । कुनै बेला पानी नपर्ने क्षेत्रमा नै ठूलो वर्षा हुने र बाढी आउने, वृष्टि छायाँ पर्ने क्षेत्रमा वृद्धि, निर्धारित मनसुनी समयभन्दा पहिला या पछि वर्षा हुने, गर्मी तथा चिसो बढ्नु प्राकृतिक गतिविधिले मौसम तीव्र गतिमा बदलिरहेको छ । 

आफ्नो अध्ययन, प्रविधिको निरन्तरको विकास तथा विकसित हुँदै गएको ज्ञानको बलमा मानिसलाई यो कुरा त थाहा हुन आयो कि पूरा पृथ्वी नै आज अभूतपूर्व सङ्कटबाट गुज्रिरहेको छ । मानिसको प्रवृत्ति नै यस्तो छ कि यी बढ्दो समस्याबाट पाठ सिक्ने र चेत्नेभन्दा पनि आफ्ना क्षुद्र स्वार्थका वसमा परेर तिनलाई पूरा गर्न जिउ छाडेर लागेको देखिन्छ ।

पृथ्वीका विभिन्न देशमा आज पानीको असन्तुलित उपयोग, पहाड भत्काउने र जङ्गल जथाभावी काट्ने, प्लास्टिक निर्मित वस्तुको अधिक मात्रामा उत्पादन गर्ने र प्रयोगमा ल्याउने गर्नाले स्थिति खतरनाक बन्न पुगिसकेको वैज्ञानिक अध्येता औँल्याउँछन् ।बितेको डेढ शताब्दीदेखि यता मात्र स्थल क्षेत्रको तापक्रम १ डिग्री र जलस्थलको तापक्रम डेढ डिग्री सेल्सियस बढिसकेको विश्वका विज्ञले निरन्तर औँल्याइरहेका छन् ।

यसका कारण यसबीचमा डेढ करोड वर्गमाइलजति क्षेत्रको जमिन काटिसकिएको छ । आज त समुद्रमा पनि भीषण प्रदूषण बढिसकेको औँल्याइएको छ । बितेको २५ वर्षभित्रैमा १३ लाख वर्गमाइल क्षेत्रमा वनजङ्गल काटिसकेको अभिलेख छ । पर्यावरणको विनाश खतराको सतहभन्दा माथि गइसकेको औँल्याइन्छ । 

मानिस, खासगरी नाफाको लोभले ग्रसित पुँजीवादमा अन्ध किसिमले लागेको छ र पर्यावरण सन्तुलन राख्न असफल साबितजस्तै भइसकेको छ । त्यसैले आज पर्यावरणको विनाशमा विकसित देश जिम्मेवार छन् कि विकासशील भन्ने चर्काे बहस पनि छेडिएको छ तर सबैलाई थाहा भइसकेको छ कि विकसित देशले प्रकृतिमाथि मनपरि गरेको पाप विकासशील देशको टाउकोमा बोकाउने बहस मात्रै हो यो ।

त्यसैले यतिबेला पर्यावरण र जीवनदायिनी पृथ्वीलाई कसरी जोगाउने र के कस्ता प्रभावकारी र परिणामदायी ठोस कदम चाल्ने हो र तिनको सबैले परिपालना गर्ने हो, बहस त्यसमा हुनुपर्छ । अन्यथा यो पृथ्वीमा मानिसलगायत कुनै पनि प्राणी बँच्ने छैनन् । त्यसको दोषी भने केवल मानिस मात्र हुनेछ ।

Author

लोकनारायण सुवेदी