• ९ भदौ २०८२, सोमबार

यसरी बचौँ हैजाबाट

blog

फाइल तस्बिर ।

सिर्जना खत्री 

काठमाडौँ, भदौ ९ गते । पछिल्लो समय वीरगञ्ज हैजा तिव्र गतिमा फैलिरहेको छ । झाडापखालाका लक्षण लिएर वीरगञ्जका विभिन्न अस्पतालमा पुगेका बिरामीमा हैजा पुष्टि भएको हो ।

के कारणले हैजा फैलियो ? भन्ने यकिन कारण पत्ता लाग्न नसकेर थप पुष्टि गर्न हैजा पुष्टि भएकाको नमूना सङ्कलन गरी थप परीक्षणका लागि विभिन्न प्रयोगशालामा पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. मिलन बज्राचार्यका अनुसार नेपालमा वर्षेनी देशका विभिन्न भागमा दुषित पिउने पानी र बाँसी ,सडेगलेका खानेकुराका कारणले हैजाको बिरामी पुष्टि हुने बताउनुहुन्छ ।  

हैजा के हो ?

चिकित्सका अनुसार हैजा भिब्रियो कोलेरा नामक प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रमक झाडापखाला सम्बन्धि रोग हो । फेकल कोलिफोर्म (दिसा मिसिएको) दूषित पानी वा खानाको माध्येबाट यो रोग मानिसमा सर्छ । शरीरमा यो जीवाणु प्रवेश गरेपछि जीवाणुले सानो आन्द्रमा सङक्रमण गराइ झाडापखाला गराउने डा।बजा्रचार्य बताउनुहुन्छ ।  

उहाँ भन्नुहुन्छ, ‘हैजा भएका मानिसको दिसाबाट उक्त कीटाणुहरु निस्कन्छन् । ती कीटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटमा जाने गर्छ । सानो आन्द्रामा सो ब्याक्टेरियाले सङ्क्रमण गरी झाडापखाला लाग्ने गर्छ ।’ 

हैजाले सामान्य देखि जटिल स्वास्थ्य समस्या निम्तन्छन् । डा।बज्राचार्यका अनुसार झन्डै १० जना हैजाका बिरामी मध्ये एक जनामा कडा खालको लक्षण देखिन्छ । उहाँ भन्नुहुन्छ, ‘हैजा हुँदा धेरैलाई सामान्य झाडापखालाको समस्या देखिने र औषधी खाएपनि निको हुने गर्छ भने थोरै जस्ता बिरामी अस्पतालमा आउनुपर्ने अवस्था सिर्जना हुन्छ ।’ 

हैजाको लक्षण 

सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनसम्ममा हैजाको लक्षण देखिने डा. बज्राचार्य बताउनुहुन्छ । पातलो चौलानी पानी जस्तो दिसा हुने, वकवाकी लाग्ने बान्ता हुने, कडा जलवियोजन हुने, पेट दुख्ने ज्वरो आउने, असाध्यै तिर्खा लाग्ने हैजाका प्रमुख लक्षण हुन । 

यदि, कडा जलवियोजन भएमा आँखा गाडिनु, मुख जिब्रो र घाँटी सुख्खा हुनु, तिर्खा लाग्ने, थकाई लाग्ने, छाला सुख हुने, पिसाबको रङ्ग पहेँलो हुने, र पिसाबको मात्रा कम हुने, मुटुको घड्कन अनिययन्त्रित हुने जस्ता लक्षण देखिन्छन् ।

हैजा भएका मानिसको तौल घट्दै जाने, पेट दुख्ने, आँखा गड्ने, छाला चिसोे हुने, हातगोडा बाउडिने जलवियोजन भएर मानिसको मृत्यु समेत हुने गर्छ । कडा खालको झाडापखाला भएपनि समयमानै यो रोगको उपचार गरेमा निको हुने गर्छ । तर, यदि बिरामीले हेलचेक्राई गरेमा जलवियोजन भई मृत्यु हुन्छ । 

रोग पुष्टि भएको  देखिएको १० दिनसम्म दिसा मार्फत हैजाको ब्याक्टेरिया दिसाका माध्येबाट बाहिर निस्कने गर्दछन् । यदि व्यवस्थित चर्पी नरहेको वा संक्रमितले आफ्नो हात राम्रोसँग साबुन पानीले नधोइदिंदा हैजा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने सम्भावना उच्च रहने चिकित्सक बताउछन् । 

कसरी सर्छ ? 

हैजा छोएरसँगै बस्दैमा सर्दैन । यो दुषित पानीको माध्येमबाट सर्ने गर्छ । त्यसका अलाव बासी खानेकुरा खाएमा, नपकाएको खानेकुरा,संक्रमित व्यक्तिले हात नधोई सरसामन छोयो भने त्यहाँबाट सर्ने गर्छ । 

हैजाबाट बच्ने उपाय 

हैजा लाग्न नदिन पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरे मात्रै पिउने,व्यक्तिगत सरसफाईमा ध्यान दिने, बासी सढेगलेको खानेकुरा नखाने, खाना छोपेर राख्ने, काँचै खान मिल्ने फलफुल र तरकारी सरसफाईलाई विशेष ध्यान दिन डा. मिलनको सुझाव छ ।  

काठमाडौँमा खानेपानीको अभाव भएकोले सरकारले जोखिम क्षेत्रलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने, पानीका मुहान सफा गर्ने गरेमा यसको जोखिम कम गर्न सकिन्छ ।