- अहिले इन्टरनेट र मोबाइल हातमा छ भने ‘मुना’ सजिलै पढ्न सकिन्छ । विश्वको जुनसुकै ठाउँमा भए पनि प्रविधिले बालबालिकाको दैनिकीलाई प्रविधिमैत्री बनाएको छ । त्यसैले ‘मुना’ पढ्न पाउने बालबालिकाको अधिकारलाई अब समयनुसार हामीले प्रविधिसँग जोडेर भए पनि पूरा गर्न सक्छौँ ।
- इन्टरनेट सुविधा भएका देशभरिका विद्यालयसँग समन्वय गरेर सम्बन्ध विस्तार गर्न सकिन्छ । विदेशमा रहेका लाखौँ नेपाली बालबलिकालाई पनि हामीले सजिलैसँग ‘मुना’ मा जोड्न सक्छौँ । विदेशमा बसेका अधिकांश बालबलिकाले नेपाली भाषा, कला, संस्कृति, वेशभूषा र आफ्नोपनलाई सम्झिरहेका हुन्छन् । नेपालको कुनै ठाउँको विद्यार्थीले ‘मुना’ मा लेखेको लेखले विदेशमा बस्ने अर्को नेपाली विद्यार्थीको मन छुन सकोस् ।
- आधुनिक प्रविधिको विकास, फरक धर्म, संस्कृतिका रहनसहन, विद्यालय शिक्षाका फरक सिकाइका अनुभवहरूलाई हामीले ‘मुना’ मा स्थान दिनसके ‘मुना’ विदेशमा रहेका नेपाली बालबालिकामाझ पनि लोकप्रिय हुने छ । भौगोलिक हिसाबमा टाढा भए पनि बालबालिकाबिचमा ज्ञानको आदानप्रदान गर्न प्रविधिले पक्कै सहज बनाउने छ । यसका लागि ‘मुना’ ले विशेष कार्ययोजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ ।
समाजमा छोरा र छोरीबिचको विभेद कायम थियो । छोरीहरू विद्यालय शिक्षाबाट वञ्चित थिए । समाजमा छोरा र छोरीबिच समान शिक्षाको अवसर र विभेदपूर्ण व्यवहारको अन्त्यका लागि सार्क राष्ट्रहरूले पनि समस्याको साझा समाधानको प्रयासस्वरूप सन् १९८९ मा पाकिस्तानको इस्लामाबादमा सार्कस्तरीय बैठकको आयोजना भयो । उक्त बैठकले सन् १९९० लाई ‘सार्क बालिका वर्ष’ र उक्त दशकलाई ‘सार्क बालिका दशक’ मनाउने घोषणा गर्दै ‘बालिकाहरूलाई स्कुल पठाऊँ, शिक्षित बनाऊँ, छोरा र छोरीलाई बराबरी व्यवहार गरौँ’ भन्ने नारा तय गर्यो । विद्यालय शिक्षासँगै बालबालिकाको बालविकासका लागि सार्क राष्ट्रको सामूहिक प्रतिबद्धताको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पनि निकै चर्चा भयो । सार्क राष्ट्रहरूले आआफ्ना देशमा विभिन्न दीर्घकालीन कार्ययोजनाहरू बनाएर बालिका शिक्षालाई सामाजिक विकास र समृद्ध राष्ट्रसँग जोडेर अघि बढ्न साझा नारा तय गरिएको थियो ।
सार्क बालिका वर्षको अवसरमा बालबालिकाको समान शिक्षा र समान अवसरलाई व्यवहारमा लागु गर्न र बालिका दशकलाई सफल बनाउन विसं २०४७ साल पुसमा गोरखापत्रको सहप्रकाशनका रूपमा मुना मासिक पत्रिकाको सुरुवात गरिएको हो । गोरखापत्र संस्थानले बालबालिकाको क्षेत्रमा कुनै नयाँ र ऐतिहासिक कामको सुरुवात गर्ने उद्देश्यले प्रकाशित गरिएको ‘मुना’ अहिले गत पुसमा ३५ औँ जन्मदिन मनाइरहँदा सबैभन्दा धेरै बाल मासिक प्रकाशन गर्ने इतिहास पनि रचेको छ । बालबालिकाका लागि ‘मुना’ फक्रिरहेको फूल जस्तै छ । विद्यालयको पाठ्यपुस्तकबाहेक अतिरिक्त सामग्रीका रूपमा रहेको ‘मुना’ जिज्ञासु बालबालिकाका लागि सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने सानो मञ्च जस्तै छ । जहाँ धेरै उत्सुकता, केही गर्ने हौसला, नयाँ काम गर्न प्रेरणा र क्षमता अभिव्यक्त गर्ने माध्यम धेरै छन् । शिक्षा, स्वास्थ्य, ज्ञान, विज्ञान, कला, साहित्य, मनोरञ्जनलगायतका सामग्रीसँगै विश्वलाई नजिकैबाट बुझ्न पाउने ज्ञानको स्रोत समावेश छ । ‘मुना’ प्रकाशित हुँदाको समयमा अहिलेको जस्तो सूचना र प्रविधिको उपलब्धता थिएन । आफूसँग उपलब्ध सीमित स्रोतसाधनको उपयोग गरेर भए पनि ‘मुना’ ले बालबालिकाको उमेर अनुसार सामग्री तयार पारी देशभरिका बालबालिकामाझ पु¥याउने लक्ष्य लिएको थियो त्यो अहिले पनि सबैका लागि स्मरणीय छ । ‘मुना’ का हरेक अङ्कहरू उत्कृष्ट लाग्छन् । हरेक पेजमा देखिने कलात्मकता, बालबालिकाको उत्साहजनक सहभागिता, साहित्यिक सामग्रीमा विविधता, सरल भाषा, बालमनोविज्ञानलाई बुझेर तयार पारिएका सामग्रीको संयोजनमा उत्कृष्ट सम्पादकीय कला झल्किन्छ ।
‘मुना’ को न्वारन
फुर्सदको समयमा बालबालिकाहरू ‘मुना’ को कार्यालयमा आउन पाउँदा खुसी हुन्छन् । कहिले अभिभावकसँग त कहिले शिक्षकहरू आफैँले लिएर आउनुहुन्छ । समय समयमा विभिन्न विद्यालयमा ‘मुना’ ले अन्तर्क्रिया कार्यक्रमहरू पनि आयोजना गर्ने गर्छ । अधिकांश विद्यार्थी भाइबहिनीको एउटै जिज्ञासा र उत्सुकता हुने गर्छ । ‘मुना’ नाम कसले राखेको हो ? किन ‘मुना’ नै राखिएको हो ? यो जिज्ञासा कहिलेकाहीँ ठुलो मान्छेहरूले पनि राख्नुहुन्थ्यो । ‘मुना’ नै नाम किन राखियो भन्ने विषयमा पनि पुराना अङ्कको ‘मुना’ अध्ययन गर्दा थाहा भयो । गोरखापत्र संस्थानले बालबालिकाका लागि बालपत्रिका प्रकाशन गर्ने निर्णय गरिसकेपछि उपयुक्त नाम के हुन सक्छ भन्ने विषयमा सार्वजनिक रूपमा ‘गोरखापत्र’ मार्फत विज्ञापन गरिएको रहेछ । तोकिएको समयमा २७३ जनाले पठाएको नाममध्येबाट संस्थानले उपयुक्त नामका लागि विज्ञहरूसँग परामर्श तथा छलफल गर्दा बालबालिकाका लागि पत्रिकाको नाम ‘मुना’ राख्ने निर्णय गरिएको रमाइलो प्रसङ्गलाई ‘मुनाको न्वारन’ शीर्षकमा तत्कालीन ‘मुना’ का सम्पादक सुरेन्द्रराज द्विवेदीले ‘मुना’ को सम्पादकीयमार्फत जानकारी गराउनुभएको थियो ।
‘मुना’ को पहिलो अङ्क
‘मुना’ को पहिलो अङ्कको आवरण निकै आकर्षक तरिकाले डिजाइन गरिएकाले बालबालिकालाई अहिले हेर्दा पनि रमाइलो लाग्ने खालको छ । ३२ पृष्ठको सानो श्यामश्वेत रङमा प्रकाशित ‘मुना’ को बजार मूल्य विसं २०४७ पुसमा पाँच रुपियाँ थियो । ‘मुना’ को पहिलो पेजमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मुना’ बालबालिकाका लागि ज्ञानवर्धक र मनोरञ्जनप्रधान सामग्रीहरू प्रकाशित गरेर भोलिका दिनमा देशको जिम्मेवार नागरिक तयार गर्न सहयोग गर्ने आशासँगै बालपत्रिका ‘मुना’ प्रकाशित भएको खुसियालीमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
निकै मेहनत र व्यापक छलफलपछि प्रकाशित पहिलो अङ्कको ‘मुना’ को हरेक पृष्ठमा रमाइला चित्रहरू, लय मिलाएर पढूँ पढूँ लाग्ने खालका कविता, हितोपदेश, पञ्चतन्त्रका कथा, महापुरुषको जीवनी जस्ता सामग्री बालबालिकाका लागि निकै आकर्षक छन् । बाल मनोविज्ञान बुझेर लामो समयको मेहनतपश्चात् बजारमा आएको ‘मुना’ लाई सुरुवातदेखि नै बालबालिकाले असाध्यै मन पराए । ‘मुना’ मा देखिएको उत्साहजनक सहभागिताबाट पनि उनीहरूका लागि कति प्यारो थियो ‘मुना’ भन्ने थाहा पाउन सकिन्छ ।
त्यतिबेला ‘मुना’ मा केटाकेटी रमाइला कविताहरू पढ्न मन पराउँथे भने अग्रज बालसाहित्यकार पनि बालबालिकाकै मनोभावना बुझेर लेख्थे । बालबालिकाकै लागि भनेर लेखिने साहित्य कस्तो हुनु पर्छ भन्ने कुरा हामी ‘मुना’ को पहिलो अङ्कमा प्रकाशित बालसाहित्यकार कृष्णपसाद पराजुलीको ‘हटहट घोडा’ शीर्षकको कविताबाट बुझ्न सक्छौँ ।
हटहट आयो घोडा है
बाटो छोड छोड है
सानो घोडा राम्रो छ
भिल्के घोडा हाम्रो छ
विद्यालय गइसक्यौँ
घर फर्की आइसक्यौँ
घोडा दौड्यो साँझमा
नबस है माझमा ।
‘मुना’ को पहिलो अङ्कको साख अहिले पनि बालबालिकामाझ उत्तिकै छ । अहिलेको प्रतिस्पर्धाको बजारमा ३५ वर्षअगाडिको ‘मुना’ को तुलना गर्ने हो भने पनि अतुलनीय नै छ ।
सुरुवातदेखि नै उत्कृष्ट
विसं २०४७ पछिको एक दशकको अवधिमा ‘मुना’ मा प्रकाशित सामग्री साहित्यिक सामग्रीको उत्कृष्टता र विविधताका कारण नेपाली बालसाहित्यबारे बालबालिकाले धेरै कुरा जान्ने अवसर पाए । अग्रज बालसाहित्यकार रत्नशमशेर थापा, दैवज्ञराज न्यौपाने, राष्ट्रकवि माधव घिमिरे, कृष्णपसाद पराजुली, क्षेत्रप्रताप अधिकारीलगायतका दिग्गज व्यक्तित्वका सिर्जनाले ‘मुना’ लाई सदावहार नै हराभरा पार्ने काम भयो । पाठ्यपुस्तकमा उहाँहरूकै रचना पढ्दै गरेका विद्यार्थीका लागि ‘मुना’ ले जुराएको यो अर्को अवसर पनि थियो ।
गाली गर्देन सारङगी, झुठो बोल्दैन बाँसुरी
छ सङ्गीत तिमीभित्र, मीठो बोल सधैभरि
उड्दैन फूलको रङग, सुक्दैन महको रस
छ, जिन्दगी तिमी भित्र, बन जीवन्त मानिस ।
वि.सं. २०५१, असोज वर्ष ४ पूर्णाङ्क ४६ अङ्क १०
विसं २०५१ असोज महिनाको ‘मुना’ मा प्रकाशित राष्ट्रकवि माधव घिमिरेको यो कविता शब्द, लय, मिठास र माधुर्यले भरिएको छ । पछिल्लो समय बालबालिकाले यस्ता कविता पढ्ने अवसर पाएका छैनन् । बालसुलभ भावना अभिव्यक्त भएका कविता, सरल भाषा, लयमा मिठास अनि बालसुलभ गुण, कलात्मकता भरिएका चित्रहरू समावेश पुराना अङ्कहरूको हरेक पेजको मिठास बेग्लै छ । ‘मुना’ मा बालबालिकाले असाध्यै रुचाएको ‘साथी बनाऔँ’ स्तम्भ हो । ‘मुना’ को दोस्रो अङ्कबाट सुरु गरिएको यो स्तम्भ २०६० सालसम्म नै थियो । देशभरिका बालबालिकाको उत्साहजनक सहभागिता रहने उक्त स्तम्भमार्फत देशका कुना कुनाका विद्यार्थी एकअर्कालाई साथी बनाउने र पत्राचार गर्ने गर्थे । जहाँ बझाङ, बाजुरा, गुल्मी, कैलाली, कञ्चनपुर, धनगढी, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लाका विद्यार्थीले भाग लिन्थे । यस्तो खालको सहभागिता पछिल्लो समय बरु कम हुँदै गएको छ । विद्यार्थी जीवन सकिएपछि ‘मुना’ ले जुराएको साथीबारे कतिले त जीवनकै अविस्मरणीय क्षणका रूपमा रमाइलो स्मरणहरू ‘मुना’ मा प्रकाशित गरेका थिए । देशभरिका बालबालिकाको सहभागिता रहने यस्ता धेरै स्तम्भ पछिल्लो समय ‘मुना’ मा छैनन् तर ‘मुना’ पढेर हुर्किएका पुस्ताले ती रमाइला कुरालाई पक्कै स्मरण गर्ने छन् ।
सम्पादकीय कला
‘मुना’ लाई बालबालिकाले धेरै रुचाइनुमा सम्पादकहरूको सम्पादकीय कला पनि मुख्य देखिन्छ । हरेक अङ्कको अगाडि पानामा सम्पादकले बालबालिकालाई हौसला दिएर उनीहरूका सिर्जनालाई प्रशंसा गरेर कुनै एउटा नयाँ विषयको जानकारी दिएर मात्र सम्पादकीयको सुरुवात गरेको देखिन्छ । ‘मुना’ प्रकाशनको सुरुवातदेखि लगभग दुई दशकको अवधिसम्म पनि सम्पादकीयमा हरेक महिना उनीहरूका लागि केही न केही नयाँ विषय समावेश गरिएको हुन्थ्यो । अगाडिको पृष्ठलाई चिटिक्क पारेर फ्रेमको डिजाइन गरिएको पेजमा हाम्रा लागि यो महिना सम्पादकले के नयाँ कुरा ल्याउनुभएको छ भन्ने जिज्ञासाले पनि बालबालिका ‘मुना’ पढ्न हुरुक्कै हुन्थे । यसरी बालबालिकाको चाहना र भावना अनुरूप प्रकाशित हुने सम्पादकीय कलाले एकआपसमा दुवैलाई आफ्नो पनको महसुस गराउँथ्यो ।
पुरानो समयको ‘मुना’ लोकप्रिय हुनुमा तत्कालीन समयको कलाकौशल, बाल मनोविज्ञानको विषयगत ज्ञान, अधिकांश बालबालिकाका निम्ति मुनाको सहज उपलब्धता र बालबालिकाकै सहभागितालाई सर्वाेपरि ठान्ने सम्पादकीय कला मुख्य देखिन्छ । त्यतिबेला ‘मुना’ लाई देशव्यापी बनाउन सम्बन्धित निकायको पनि उत्तिकै चासो देखिन्छ । विसं २०५० सालको भदौ अङ्कको ‘मुना’ मा क्षेत्रीय शिक्षा निर्देशनालय, मध्यमाञ्चलले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका निम्ति अतिरिक्त सामग्रीका रूपमा ‘मुना’ लाई प्रवर्धन गरिएको र अबदेखि ‘मुना’ देशभरिका बालबालिकाले सजिलै पढ्न पाउने व्यवस्था गरिएको समाचारलाई सम्पादक सुरेन्द्रराज द्विवेदीले सम्पादकीयमार्फत नै जानकारी गराउनुभएको थियो । ‘मुना’ मा समय अनसुार पाठकको रुचि र चाहना अनुसार सामग्रीमा पनि विविधता थपिँदै गएको पाइन्छ । विसं २०५१ सालदेखि ‘मुना’ मा तिम्रो फूलबारी स्तम्भ सुरु गरेपछि बालबालिकाको सहभागिता झन् धेरै बढेको थियो । विद्यालयस्तरबाट नै प्रतिस्पर्धात्मक रूपमा उत्कृष्ट रचनाहरू पठाउन लगाएर विद्यालयले नै विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रेरित गर्थे ।
त्यस्तै २०५२ सालदेखि भने ‘मुना’ मा निरन्तर प्रतिभाशाली बालबालिकाको तस्बिर आवरणमा प्रकाशित हुन थाल्यो । यसले पनि देशभरिका बालबालिकालाई केही राम्रो काम गरेर ‘मुना’ मा फोटो छपाउन प्रेरित ग¥यो । बालबालिकाकै, राय, सल्लाह, सुझाव र प्रतिक्रियालाई मनन गर्दै बालबालिकाले अति नै मन पराएको सम्पादकीय स्तम्भबाट केही सिकेर पनि आगामी दिनमा ‘मुना’ को स्तरीयता र लोकप्रियता कायम गर्न सकिन्छ ।
बालबालिकाको चाहना अनुरूप नै होस्
‘मुना’ ठुला मान्छेका लेखरचनाको सँगालो बनाएर उनीहरूको विज्ञता पोख्ने ठाउँ हुनु भएन । बालबालिकाका लागि प्रकाशित सामग्रीमा उनीहरूकै रुचि, चाहना, भावना र सहभागिता महìवपूर्ण छ । उनीहरूले पढ्ने भाषा, शब्दचयन, संयोजन, डिजाइन र पाठ्यसामग्रीबारे हामीले कतिको ध्यान पु¥याएका छौँ भन्नेतर्फ पनि सोच्नुपर्ने समय आएको छ ।
पछिल्लो समय ‘मुना’ मा बालबालिकाको सहभागिता कम र ठुला मान्छेहरूको लेखरचना बढी भयो । जबरजस्ती बालबालिकामथि विज्ञता पोख्ने काम भइरहेको छ । ‘मुना’ कसका लागि हो ? भन्ने पश्न उठिरहेको छ । ‘मुना’ का सार्वजनिक कार्यक्रमहरूमा ‘मुना’ लाई सोधिने यस्तै प्रश्न हुने गर्छ भने पूर्वसम्पादकहरूको पनि यही गुनासो रहने गर्छ ।
अहिले ‘मुना’ मा बालबालिकाले असाध्यै रुचाएका र उनीहरूको सहभागिता रहने स्तम्भ कुनै पनि छैनन् । ‘मैले खिचेको फोटो’ पछिल्लो समय बालबालिकाकै अनुरोधमा राखिएको स्तम्भ थियो । उनीहरू कतै नयाँ ठाउँ घुम्न जाँदा आफैँले फोटो खिचेर पठाउँथे । आफूले खिचेको फोटो ‘मुना’ मा प्रकाशित हुँदा उनीहरूको खुसीको त बयान नै गर्न सकिँदैन । मेरो विद्यालय, रङ भर, बाटो पत्ता लगाऊ, फूलबारी, स्रष्टा संवाद, फोटो कथा जस्ता स्तम्भ धेरैभन्दा धेरै विद्यार्थीले रुचाएका स्तम्भहरू हुन् ।
हाम्रो असली पाठक बालबालिका नै हुन् । उनीहरूको सिर्जना मर्नु भएन । अहिले बजारमा प्रतिस्पर्धा धेरै छ भने बालबालिकालाई अतिरिक्त पाठ्यसामग्रीको अभाव छैन तर हामीले गोरखापत्रको गौरवमय प्रकाशनको साख र गरिमालाई बढाउँदै लैजानेतर्फ सोच्नु पर्छ । अग्रज सम्पादकहरूले छोडेर जाँदा ‘मुना’ को सफलता र निरन्तरताको कामना गर्नुभएको थियो त्यसलाई अझै उचाइमा पु¥याउने हाम्रो जिम्मेवारी हुनु पर्छ । ‘मुना’ को २९ औँ वार्षिकोत्सव समारोहमा ‘मुना’ का पहिलो सम्पादक गोकुल पोखरेलले भन्नुभएको थियो, “बालबालिकाको भावनालाई ‘मुना’ ले सम्बोधन गर्न सकेको छैन । ठुला मान्छेका लेखरचनाको सँगालो बनाएर बालबालिकाका लागि भन्न मिल्दैन । बालबालिकाकै भावना अभिव्यक्त हुने रमाइलो फूलबारी हुनु पर्छ ‘मुना’ । उनीहरूकै सिर्जना फुल्नु पर्छ । अनि मात्र म मुनालाई मुना भन्छु । ठुला मान्छेका लेख पढेर बालबालिकालाई प्रेरणा मिलोस्, हौसल मिलोस्, असल ज्ञानको मार्गमा हिँड्न सजिलो बनोस् अनि मात्र ती लेखकहरू बालबालिकाको सच्चा अभिभावक हुन् ।”
पूर्वसम्पादक पोखरेलले भन्नुभए जस्तै बालबालिकाको सहभागिता जति धेरै भयो त्यत्ति नै उनीहरूको लेखन क्षमता र बौद्धिक क्षमता बढ्दै जाने हुनाले ‘मुना’ लाई देशव्यापी रूपमा नै विद्यालयहरूसँग जोड्नुपर्नेमा पूर्वसम्पादकको चासो र चिन्ता देखिएको हो ।
प्रविधिमैत्री ‘मुना’
अहिले इन्टरनेट र मोबाइल हातमा छ भने ‘मुना’ सजिलै पढ्न सकिन्छ । विश्वको जुनसुकै ठाउँमा भए पनि प्रविधिले बालबालिकाको दैनिकीलाई प्रविधिमैत्री बनाएको छ । त्यसैले ‘मुना’ पढ्न पाउने बालबालिकाको अधिकारलाई अब समयनुसार हामीले प्रविधिसँग जोडेर भए पनि पूरा गर्न सक्छौँ । यसका लागि इन्टरनेट सुविधा भएका देशभरिका विद्यालयसँग समन्वय गरेर सम्बन्ध विस्तार गर्न सकिन्छ । सहज र सजिलो प्रविधिमार्फत बालबालिकामाझ ‘मुना’ पु¥याउने लक्ष्य राखिने हो भने असम्भव छैन । प्रविधिको उपलब्धतालाई उपयोग गर्ने हो भने सबैभन्दा महत्वपूर्ण कुरा विदेशमा रहेका लाखौँ नेपाली बालबलिकालाई पनि हामीले सजिलैसँग ‘मुना’ मा जोड्न सक्छौँ । विदेशमा बसेका अधिकांश बालबलिकाले नेपाली भाषा, कला, संस्कृति, वेशभूषा र आफ्नोपनलाई सम्झिरहेका हुन्छन् । उनीहरूका लागि हामीले ‘मुना’ मा फरक देश, भाषा, वेशभूषा र संस्कृतिबारे जानकारी हुने सामग्रीहरू लेख्न लगाएर उनीहरूसँग जोडिन सक्छौँ ताकि विदेशमा रहेका नेपाली बालबालिकाले पनि ‘मुना’ लाई आफ्नो भन्न सकून् । यो राम्रो एउटा माध्यम बन्न सक्छ । नेपालको कुनै ठाउँको विद्यार्थीले ‘मुना’ मा लेखेको लेखले विदेशमा बस्ने अर्को नेपाली विद्यार्थीको मन छुन सकोस् । त्यस्तै उनीहरूले विदेशमा देखेको भौतिक संरचनाहरू, आधुनिक प्रविधिको विकास, फरक धर्म, संस्कृतिका रहनसहन, विद्यालय शिक्षाका फरक सिकाइका अनुभवहरूलाई हामीले ‘मुना’ मा स्थान दिनसके ‘मुना’ विदेशमा रहेका नेपाली बालबालिकामाझ पनि लोकप्रिय हुने छ । भौगोलिक हिसाबमा टाढा भए पनि बालबालिकाबिचमा ज्ञानको आदानप्रदान गर्न प्रविधिले पक्कै सहज बनाउने छ । यसका लागि ‘मुना’ ले विशेष कार्ययोजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ ।
लेखक मधुपर्कका सहसम्पादक हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘बालबालिकाको साथी मुना’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।