• १६ भदौ २०८१, आइतबार

बालबालिकाका कुरा विभेद कायमै छ

blog

तपाईंहरू पत्याउनु हुन्छ ? हाम्रो गाउँघरमा मात्र होइन, हामी पढ्ने विद्यालयमा समेत दलित विद्यार्थीलाई छुवाछुत र विभेद गरिन्छ ।  गैरदलित साथीले नजानिँदो तरिकाले हेप्ने र व्यवहारमा छुट्याउने गर्छन् किनभने अझै पनि समाजमा दलितलाई समान भावले हेर्ने धारणाको विकास भइसकेको छैन । के हाम्रो हैसियत समाजमा समान होइन र ? कालीकोटकी छात्रा शर्मिला विकले राजधानीमा आयोजित एक कार्यक्रममा आफूमाथि भइरहेको विभेदविरुद्धमा यसरी बोल्दै उपस्थित सबैको ध्यानाकर्षण गराइन् । उनी जनप्रभात मावि, कालीकोटमा कक्षा १० मा पढ्छिन् । उनले विद्यालय जस्तो पवित्र ज्ञान आर्जन गर्ने ठाउँमा समेत जातको आधारमा विभेद गर्ने गरेको दुःखेसो सुनाइन् । हामी दाजुभाइ, दलित महिला सङ्घ (फेडो) र प्लान इन्टरनेसनलको संयुक्त आयोजनामा भएको ‘सीमान्तकृत बालिकाको अधिकारको मूल प्रवाहीकरण’ विषयक कार्यक्रममा बाल अधिकार र सीमान्तकृत बालिकाको अवस्था विषयक कार्यक्रममा शर्मिला जस्तै अधिकांश दुर्गम तथा सीमान्तकृत समुदायका २० जना छात्राले आफूहरूले भोगिरहेको विभेदका विभिन्न घटनाक्रमलाई पालैपालो प्रस्तुत गरेका थिए । 

बालिकाको संरक्षण र सहभागिता, बाल बचाउ, हिंसा र दुव्र्यवहारको अवस्थालगायतका विषयमा प्रस्तुति दिएका थिए भने केहीले कविता पनि प्रस्तुत गरेका थिए । प्रस्तुतिका क्रममा उनीहरूले घरभित्रको कामको बाँडफाँटमा छोराछोरीबिच विभेद गर्न नहुने तथा शिक्षालगायत अधिकारका विषयमा पनि फरक गर्न नहुने भन्दै घरायसी कामकै कारण छात्राले घरबाहिरका कार्यक्रम, बालक्लब तथा विद्यालयका विभिन्न कार्यक्रममा सहभागी हुन नपाउने अवस्था रहेको बताएका थिए । साथै दृष्टिविहीनलगायत विभिन्न प्रकारका अपाङ्गता भएका बालिका घरबाटै बाहिर निस्किन नसक्ने र विद्यालयसम्म पुगे पनि विद्यालयले अतिरिक्त क्रियाकलापमा सहभागी नगराउनेलगायतका विषय पनि उठाए । 

सीमान्तकृत समुदायका रूपमा दलित, मधेशी, मुक्त कमैया तथा पूर्वकमलरी तथा मुस्लिम समुदाय एवं अपाङ्गता भएका र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका बालिकालाई मान्नुपर्नेलगायतका विषयमा विज्ञहरूले जोड दिनुभएको थियो ।  अहिलेसम्मका बाल अधिकारलगायत ऐन कानुनले स्पष्ट रूपमा बालबालिकाभित्र पनि सीमान्तकृत समुदाय भनेर किटान नगरेकाले सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण तथा हिंसा र दुव्र्यवहारमुक्त हुन कठिन भइरहेको सन्दर्भ जोड्दै दाजुभाइ संस्थाका अध्यक्ष सञ्जोग ठकुरीले नेपालमा सीमान्तकृत बालिकाको आवाज मूलप्रवाहमा ल्याउन देशभरि नै यस्ता अभियान चलाउनुपर्ने बताउनुभएको थियो । 

शर्मिला विकजस्तै अन्य दलित तथा सीमान्तकृत समुदायका छात्राले पनि विद्यालय तथा वरपर कुनै न कुनै रूपले विभेद भोग्नु परिरहेको बताए ।  सहरिया र निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई जातीय विभेदका बारे थाहा नभए पनि ग्रामीण भेगका दुर्गम ठाउँका सामुदायिक विद्यालयमा दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई जातजाति, धर्म, वर्ण, सामाजिक, आर्थिक हैसियत र शारीरिक अवस्थाका आधारमा विद्यालयमा थाहा पाउने गरी नै विभेद गरिने गरेकामा छात्राहरूको गुनासो थियो ।  


हाम्रो समुदायका बालबालिकालाई पनि सामाजिक विकासको खाँचो छ । हामी पनि समाजको रोल मोडल बन्नु छ । दलित त्यसमा पनि अपाङ्गता भएका, अन्तर्लिङ्गी, सीमान्तकृत, बालबालिकाका लागि वडामा हुने कार्यक्रम हाम्रो समुदायलाई थाहा नै हुँदैन । हाम्रो गाउँबाट बालबालिकाको कार्यक्रममा सहभागी हुने यो अवसर पहिलो पटक मैले नै पाएको होला ।


अनिता दर्जी 

कक्षाः ११, जनजीवन मावि, कालीकोट 


मेरो बोलीमा पहाडिया साथीको भन्दा फरक स्वर आउने, अनुहार केही कालो देखिने हुँदा स्कुल पढ्दादेखि नैे साथीहरूले मलाई जिस्काउँथे । विद्यालयमा कार्यक्रम हुँदा कहिल्यै पनि अगाडि जाने, बोल्ने आँट आउँदैनथ्यो । हाम्रो समुदायमाथिको त्यो विभेद अहिले पनि कायमै छ । 

 

रोशनी कुशवाह

कक्षाः १२, न्यु समिट कलेज, मैतीदेवी