• १० मंसिर २०८२, बुधबार

बैतडीका २७ हजार धरधुरीमा बल्यो बिजुली

blog

विद्युत् विस्तार गर्दै बैतडी वितरण केन्द्रका प्राविधिक । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 
बैतडी, मङ्सिर १० गते ।
बिजुली नपुगेका जिल्लाका पाँच स्थानीय तहका १९ वडाका सात हजार धरधुरीमा बिजुली बलेसँगै जिल्लामा विद्युत् उपभोग गर्न पाउने घरपरिवारको सङ्ख्या २७ हजार ९१ पुगेको छ ।

विद्युत् वितरण केन्द्र बैतडीले अधिल्लो आर्थिक वर्षको कार्यक्रममा पञ्चेश्वर गाउँपालिका, शिवनाथ, डिलासैनी, दोगडाकेदार सूर्नया र सिगास गाउँपालिकाका केही वडामा बत्ती बाल्ने काम सम्पन्न भएको वितरण केन्द्रका इन्जिनियर जनार्दन पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “म आफैँ गाउँमा खटिएकाे छु । हजार ७८७ घरधुरीमा बिजुली बालेर बैतडीबाट सरुवा भएर जाँदैछु । सरकारले आगामी दुई वर्षभित्र बैतडीमा पूर्ण विद्युतीकरण गर्ने लक्ष हासिल गर्न कार्यलय प्रमुखका रुमपा आफैँ खटिएर लक्ष्य अनुसार काम गर्दा बैतडीवासीले धन्यवाद दिएका छन् ।”

जिल्लाका छ वटा गाउँपालिका र चार वटा नगरपालिकामा कुल ४९ हजार ४२८ घरधुरी छन् । जिल्लामा अझै २२ हजार घरधुरीमा बिजुली पुग्न बाँकी छ । ती घरधुरीमा विद्युतीकरण गर्न सिगासको विन्द्रावन, दोगडाकेदारको सिल्लेगाडामा ३३ केभी सबस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको विद्युत् वितरण केन्द्र बैतडीका सूचना अधिकारी माधवप्रसाद लेखकले बताउनुभयो । आउँदो एक वर्षभित्र बैतडी जिल्ला पूर्ण रुपमा विद्युतीकरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।  

बैतडीमा २०४२ सालमा भारतबाट ११ केभी प्रसारण लाइनबाट बैतडी सदरमुकाममा बिजुली पुगेको थियो । त्यसछि २०४७ सालमा बैतडीको पाटनमा सूर्नयागाड साना जलविद्युतबाट दुई सय किलोबाट विद्युत् उत्पादन भयो । जुन अहिले बन्द अवस्था छ । त्यसपछि २०५६ सालमा ३३ केभी राष्ट्रिय प्रसारणलाइन जोडिएको तथ्याङ्क छ ।  

अहिले बैतडी र दार्चुलाको सीमा नदी चमेलियाबाट ९६.५ मेघावाट बिजुली उत्पादन हुन थालेको छ । ४० मेघावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि चमेलियाको बलाँचमा ३० मेघावाट, माथिल्लो चमेलिया ४०, मकरीगाड १० मेघावाट, नौगाड ८.५ मेघावाट र माथिल्लो अपरगाडबाट ८ मेघावाट गरी चमेलिया नदीमा कुल ९६.५ मेघावाट बिजुली उत्पान हुन थालेको छ । बझाङको कालङ्गा नदीबाट उत्पादन भएको ५३.७९ मेघावाट बिजुली पनि चमेलियाको ग्रिडमा जोडिएपछि बैतडीको आकाशमाथि १५० मेघावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

बैतडीको तल्लोस्वराड, च्वाँगढको सिगास र पुर्चौडी नगरपालिकाका अधिकांश गाउँ बत्तीको पहुँचभन्दा बाहिर रहेकाले स्थानीय तहसँग समन्वय गरी विद्युत् विस्तारको काम अघि बढेको बैतडी वितरण केन्द्रले जनाएको छ ।

स्थानीयत तहले बितेका पाँच वर्षमा उपभोक्ता समितिमार्फत बिजुली बाल्ने प्रयास गरे पनि गुणस्तरहीन काम गर्दा बत्ती बल्न नसकेपछि अहिले विद्युत् वितरण केन्द्र बैतडीलाई गुहार मागिरहेका छन् । पञ्चेश्वर गाउँपालिकाले ठेक्कामार्फत बिजुली विस्तार गर्न खोज्दा ठेकेदार भागेपछि वितरण केन्द्रको पहलमा अहिले गाउँपाकिला केन्द्रसहित चार वटा वडामा बिजुली बलेको  छ ।