तन्नेरी अवस्थामा मैले अमेरिकाको मेसिगन स्टेट विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएको थिएँ । त्यो बेलाको सम्झना स्मरण गर्न चाहन्छु । एक पटक स्कुल अवलोकन कार्यमा समावेश हुने अवसर जुर्यो । प्राथमिक तहका विद्यालय अवलोकन गर्ने अवसर पाएँ । स्कुल प्रवेश गरेँ । स्कुल व्यवस्थापनले एउटा कक्षामा प्रवेश गराएको थियो । त्यो दिन त ‘टिचर्स डे’ अर्थात् गुरुपूजाको अवसर परेको रहेछ । हामी मात्र गुरु पूजा गर्दा रहेन छौँ, अमेरिकीहरू पनि गुरु पूजा गर्दा रहेछन् । त्यसअघि मलाई हामी नेपालीले मात्र गुरु पूजा गर्छौं भन्ने लाग्थ्यो । त्यहाँको गुरु पूजा फरक पाएँ । धेरै कुरा सिक्ने जान्ने अवसर पाएँ ।
त्यहाँ गुरु दिवसका उपलक्ष्यमा विद्यार्थी भाइबहिनीले गुरुलाई उपहार दिँदा रैछन् । कसैले चकलेट त कसैले टाई दिँदा रहेछन् । कसैले मफलर, कसैले स्काफ, मोजा, पाकेट रुमाल दिँदा रहेछन् । ती उपहार भनेका गुरुप्रति गरिएको सम्मान रहेछ ।
एक जना विद्यार्थीले गोल्टिन बट्टा उपहार दिए । गुरुले उपहार दिएका साना विद्यार्थीसँग अनुमति मागे । उनले यो बट्टालाई खोल्न सक्छु ? भनेर सोधे । गुरुको विनम्र भावमा लुकेको नम्रताका पाठ पढेँ । सिक्ने अवसर धेरै हुने रहेछ । गुरुले बट्टा खोल्नुभयो । बट्टा खोल्नेबित्तिकै एउटा साँप बुर्लुक्क निस्कियो । गुरुले हाँस्दै भने, “क्या गजबको रहेछ । कति सुन्दर मजाकको उपहार ।” त्यो त नक्कली साँप थियो । गुरुले त्यो उपहारलाई चुम्बन गरे ।
हामी नेपालमा गुरुपूर्णिमाका दिन प्रत्येक विद्यालयमा सरस्वतीको प्रतिमा वा तस्बिर टाँगेर सिन्दूर टीका लगाई गुरुवर वा गुरुआमालाई टीका लगाई आदर गर्छौं । अमेरिकामा यसरी गुरुपूर्णिमा मनाइने रहेन छ । त्यो त देश अनुसारको भेष भन्ने उखान जस्तै हो ।
गुरुको अर्थ भाइबहिनीहरूलाई थाहा छ ? गुरु संस्कृत शब्द हो । गुको अर्थ अन्धकार हो भने रुले मेट्ने अथ्र्याउँछ । अर्थात् अन्धार हटाउने भन्ने खोजिएको हो । चेत र चेतना जगाउने काम गुरुले गर्नुहुन्छ ।