• २ भदौ २०८२, सोमबार

नेपालबाट रुबेला निवारण भएको घोषणा

blog

काठमाडौँ, भदौ २ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालबाट रुबेला निवारण भएको घोषणा गरेको छ । सोमबार डब्लुएचओले रुबेला रोग नेपालमा जनस्वास्थ्यको समस्याबाट निवारण भएको घोषणा गरेको हो ।

 खोप रोकथाम गर्न सकिने रोगबाट जनतालाई जोगाउन ठोस प्रयास गर्ने देशका लागि उल्लेखनीय उपलब्धि भएको डब्लुएओको ठहर छ ।

रुबेला अत्यधिक सङ्क्रामक रोग हो । यो रोग गर्भवतीका लागि निकै घातक मानिन्छ । यसले गर्भपतन गराउने, मृत शिशु वा अपाङ्गता शिशु जन्मिने जस्ता गम्भीर समस्या निम्त्याउने गर्छ तर, सुरक्षित र प्रभावकारी खोपले यसलाई निवारण गर्न सफल भएको हो । 

डब्लुएचओ दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले नेपालले नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीको लगनशीलता र सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निरन्तर योगदानका कारण यो रोगलाई जनस्वास्थ्य समस्याबाट निवारण गर्न सफल भएको जानकारी दिनुभयो ।  

क्षेत्रीय प्रमाणीकरण आयोगले हालै सम्पन्न बैठकमा नेपालले प्रस्तुत गरेको खोप कभरेज दर र रोग निगरानी सम्बन्धी तथ्याङ्कको समीक्षा गरी नेपालमा रुबेला निवारण भएको प्रमाणित गरेको हो।

यससँगै नेपाल डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ। यसअघि भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का र टिमोर–लेस्टेले रुबेला नियन्त्रणमा सफलता पाइसकेका थिए। नेपालले सन् २०१२ देखि रुबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो।