काठमाडौँ, भदौ २ गते । ललितपुरको महालक्ष्मीस्थानको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिनामा झन्डै १८ करोड बिगो दाबीसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ । आरोपितलाई ठगी, सङ्गठित अपराध, हुन्डी र अभौतिक मुद्रा (क्रिप्टो) कारोबारसमेतको कसुरमा जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको हो । मुद्दामा ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारीलाई विपक्षी बनाइएको छ । यस्तै फरार रहेका ज्योति गुरुङ, कुम्भराज गुरुङ, विजयकुमार राई, अर्जुन अराम र प्रितम अधिकारीलाई पनि विपक्षी बनाइएको छ ।
बचतकर्ताको रकम दुरुपयोग गरी हुन्डीमार्फत विदेश पुर्याई प्रतिबन्धित क्षेत्रमा लगानी गरेको आरोप प्रतिवादीमाथि लगाइएको छ । अपचलन गरिएको रकम प्रतिवादी ज्योति गुरुङ, कुम्भराज गुरुङ, विजयकुमार राईसँग लिएर ज्योति भण्डारीको निर्देशनमा सुवास खत्री तथा अर्जुन अरामले अन्य व्यक्तिमार्फत भारत, सिङ्गापुर, थाइल्यान्ड, कम्बोडियासमेत पुर्याइएको अभियोगपत्रमा उल्लेख छ ।
कसुर अनुसार बिगोलाई फरक कायम गरिएको छ । ज्योति गुरुङ, कुम्भराज गुरुङ, विजयकुमार राई, ज्योतिबहादुर भण्डारी, सुवास खत्री, अर्जुन अराम तथा प्रितम अधिकारीलाई बचत हिनामिनाको चौध करोड २९ लाख २४ हजार ७५४ रुपियाँ ठगी र कमिसनको तीन करोड ४२ लाख ८२ हजार ४२० रुपियाँसमेत बिगो कायम गरिएको छ । कुल बिगो १७ करोड ७२ लाख सात हजार १७४ रुपियाँ कायम गरिएको छ ।
यस्तै सुवास खत्री र अर्जुन अरामले बैङ्किङ कारोबारभन्दा बाहिर गई छ अर्ब ६४ करोड ३२ लाख ६९ हजार ८९ रुपियाँ लेनदेनको विवरणसमेत फेला परेकोले उक्त कार्य राष्ट्र बैङ्क ऐनविपरीत भएको अभियोगपत्रमा उल्लेख छ । बैङ्किङ प्रणालीबाहिरको उक्त कार्यलाई कसुरजन्य भएको भन्दै बिगोको तीन गुणासम्म जरिबाना वा तीन वर्षसम्म कैदको माग गरिएको छ । यस्तो कसुरमा दुवै सजाय हुन सक्ने व्यवस्था राष्ट्र बैङ्क ऐनमा छ ।
यस्तै प्रतिवादी सुवास खत्रीले पक्राउका क्रममा फुटाएको मोबाइलको परीक्षण प्रतिवेदनमा प्रहरीले अभौतिक मुद्रा कारोबारको विवरणसमेत फेला पारेको छ । खत्रीको एकाउन्टमा दुई हजार १४९ युएसडी ब्यालेन्स फेला परेको अभियोपत्रमा उल्लेख छ र उक्त प्रमाणका आधारमा खत्रीमाथि चलनचल्तीमा रोक लगाइएका मुद्रा कारोबार गरेको अभियोग पनि लगाइएको छ । मुलुकी अपराधसंहिताको व्यवस्था अनुसार उक्त कसुरमा एक वर्षसम्म कैद वा १० हजार रुपियाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
अभियोगपत्र अनुसार ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुवास खत्री, अर्जुनकुमार आरम तथा प्रितम अधिकारीलाई सङ्गठित अपराध कसुर पनि आकर्षित गरिएको छ । सङ्गठित अपराध निवारण ऐनविपरीतको कसुरमा मुद्दा चलाइएको हो ।
मुलुकी अपराधसंहिताको व्यवस्था अनुसार ठगी कसुरमा सात वर्षसम्म कैद र ७० हजार रुपियाँ जरिबाना हुने कानुनी व्यवस्था छ । ठगीका मतियारलाई मुख्य कसुरदारका आधार सजाय हुने व्यवस्था छ । यस्तै अभौतिक मुद्राको कसुरमा बिगोबाट बढे वा बढाएको सम्पत्ति जफत हुने छ । सङ्गठित अपराधको कसुरमा कसुरदारलाई प्रचलिन कानुनबमोजिमको सजायमा थप ५० प्रतिशत सजाय हुने व्यवस्था छ ।
फरार अभियुक्तका रूपमा मुद्दा चलाइएका ज्योति गुरुङ, अर्जुन आरम, कुम्भराज गुरुङ, विजयकुमार राई र प्रितम अधिकारीको हकमा पक्राउ पुर्जी जारीको मागसमेत अभियोपत्रमा गरिएको छ । आठमध्ये अन्य प्रतिवादी मुद्दासाथ पेस भएका छन् ।