• २ भदौ २०८२, सोमबार

तनहुँ जलविद्युत आयोजनाको मुख्यमन्त्री पाण्डेद्वारा निरीक्षण

blog

गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्दराज पाण्डे तनहुँ जलविद्युत आयोजनाको निरीक्षण गर्ने क्रममा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, भदौ १ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्माणधिन तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्नु भएको छ । बाँधस्थल, विद्युतगृह लगायतको निरीक्षणपछि मुख्यमन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिनुभयो  ।

शनिबार निरीक्षण क्रममा मुख्यमन्त्री पाण्डेले आयोजनाको हालसम्म भएका कामको प्रगतिबारे जानकारी लिनुभएको थियो । मुख्यमन्त्री पाण्डेले आयोजना निर्धारित समयमा सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग रहने प्रतिबद्धता पनि त्यस अवसरमा व्यक्त गर्नुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘‘तोकिएको समयमा काम पूरा हुनुपर्छ, त्यसको लागि आइपर्ने समस्या समाधानका लागि प्रदेश सरकारको तर्फबाट सहजीकरण गछौं ।’’

मुख्यमन्त्री पाण्डेले तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज–१’ अन्तर्गत बाँध निर्माणस्थल र ‘प्याकेज–२’ को विद्युत् गृहको निरीक्षण गर्नुका साथै प्याकेज ३  अन्तर्गतको प्रसारण लाइनको बारेमा जानकारी लिनुभयो । आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी दिनुभएको थियो ।

आयोजना प्रमुख भण्डारीले प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो । यसको हालसम्मको प्रगति ४३ दशमलव पाँच प्रतिशत रहेको छ । प्याकेज–२ को विद्युतभित्र संरचनागत कार्य सम्पन्न भई उपकरण जडान भइरहेको छ । यसअन्तर्गत भूमिगत विद्युत् गृहमा ६७ र ‘प्याकेज–३’ अन्तर्गत प्रसारणलाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको छ । आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजना विकास प्रक्रिया अगाडि बढाएको छ । आयोजनाको क्षमता १४० मेगावाट छ ।  विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने आयोजनाले जनाएको छ ।