• ३० वैशाख २०८३, बुधबार

६६ वर्षको उमेरमा एसइई उत्तीर्ण

blog

एसइई उत्तीर्ण गर्न सफल करवीर राई ।

कोकिला भण्डारी
धनकुटा, वैशाख ३० गते ।
धनकुटा–६ मा बसोबास गर्दै आउनुभएका ६६ वर्षीय करवीर राईले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको छ । इच्छाशक्ति भए पढाइमा उमेर बाधक नबन्ने सन्देश दिँदै उहाँले निरन्तर मेहनत र लगनशीलताका कारण सफलता हासिल गर्नुभएको हो ।

राईको सफलतापछि सामाजिक सञ्जालमा उहाँप्रति बधाई तथा शुभकामनाको ओइरो लागेको छ । धेरैले उहाँको प्रयासलाई प्रेरणादायी उदाहरणका रूपमा लिएका छन् ।

शिक्षा प्राप्त गर्ने उमेरको कुनै सीमा नहुने सन्देश दिन सफल राई अहिले धेरैका लागि उदाहरण बन्नुभएको छ । पारिवारिक तथा सामाजिक जिम्मेवारीबिच पनि उहाँले अध्ययनलाई निरन्तरता दिनुभएको आफन्तले बताएका छन् । स्थानीयवासीले उहाँको उपलब्धिलाई धनकुटाकै गौरवको विषय भएको बताएका छन् ।

राईले लामो समयदेखिको अधुरो शैक्षिक सपना पूरा भएको अनुभूति भएको बताउनुभएको छ । उहाँको सफलताले विशेषगरी विद्यालय छाडेका तथा उमेरका कारण पढाइप्रति निराश भएका व्यक्तिलाई पुनः शिक्षातर्फ प्रेरित गर्ने विश्वास गरिएको छ ।