बनेपा समाचारदाता
बनेपा, भदौ १ गते । मनसुन सक्रिय भएपछि जिल्लामा बाढीपहिरो जस्ता विपत्का घटनाको जोखिम बढिरहेको छ । विभिन्न स्थानीय तहका यस्ता जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको त्यस क्षेत्रका स्थानीयले गुनासो गरेका छन् ।
गत असोज दोस्रो साताको बाढीपहिरोका कारण जोखिममा रहेका बस्ती स्थानान्तरण गर्नका लागि तिनै तहका सरकारको ध्यान जान नसक्दा सोही स्थानमा बस्न बाध्य भएका छन् । सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकले गत असोज महिनाको बाढीपहिरोपछि जिल्लामा आधा दर्जन स्थानीय तहका ७४ वटा बस्ती जोखिममा रहेकाले ती बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी सिद्धिराज तिमल्सिनाले स्थानीय तहले पठाएको विवरण अनुसार जिल्लाको खानीखोला गाउँपालिकाको वडा नम्बर–६ को चनौटे, वडा नम्बर–५ को सिक्रेदोभान बस्ती गत असोजमा बागमती खोलामा आएको बाढीले बगाएको बताउनुभयो । उहाँले खानीखोला गाउँपालिकाकै वडा नम्बर ४ र ५ को मझुवा र स्यार्तेपाखा बस्ती पहिरोले जोखिममा रहेको जानकारी दिनुभयो । मण्डनदेउपुर नगरपालिका–१० को चिनेसोरा, नारिनखर्क, जमकोसी, माइटार, तीनधारा एकीकृत बस्ती, वडा नम्बर–११ को भाटपोल गैराटोल, मगरगाउँ पहिरोको जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने रहेको छ । यस्तै वडा नम्बर–१२ को रामपुर, छाप, भतेरे, दोबाटा, काफलचौर र बिस्कुटेसमेत पहिरोको जोखिममा रहेको कार्यालयले जनाएको छ ।
जिल्लाको चौँरीदेउराली गाउँपालिका–८ का एक दर्जन बस्ती जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । यस्तै वडा नम्बर–६ का १२ वटा बस्ती, वडा नम्बर–४ का तीन वटा बस्ती र वडा नम्बर–९ का खहरेखोला बस्ती पहिरोको जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेका छन् । पाँचखाल नगरपालिका–८ का एक दर्जन बस्ती, वडा नम्बर–९ का लाखापुर, वडा नम्बर–१२ का ठकुरीगाउँ, वडा नम्बर–१३ का सल्लेरी भदौरे बस्ती पहिरोको जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ ।
यसै गरी रोसी गाउँपालिकाको वडा नम्बर–१, फलामेसाँघु, वडा नम्बर–२ को नारायणटार, वडा नम्बर–३ को मझुवा, भण्डारे, साँझकोट, सिहाले, राजवृक्ष, तल्लोटोल, वडा नम्बर–४ को थिङ टोल, सिग्देल टोल बाढीपहिरोको जोखिममा रहेका छन् । त्यसै गरी वडा नम्बर–५ को कङ्श, वडा नम्बर–८, ९ को नार्के, वडा नम्बर–९ को देउराली वडा नम्बर–१० को तारे, डाँडागाउँ, वडा नम्बर–११ को कालढुङ्गा, मेर्पा बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् ।
बेथानचोक गाउँपालिकाको वडा नं. १, २, ४, ५ का दर्जनौँ घर खोला तथा बाढीपहिरोको जोखिममा रहेका छन् । जिल्लाका स्थानीय तहले आफ्नो पालिकाभित्रका जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि सम्बन्धित निकायमा पहलका लागि सहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गरेका छन् ।
दुई बस्ती स्थानान्तरण गर्न बजेट
बागमती प्रदेश सरकारले बाढीपहिरोको जोखिममा रहेका बस्तीमध्ये दुई बस्तीका लागि बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले जिल्लाको मण्डनदेउपुर नगरपालिका–११ को मसार मगरगाउँ जोखिमयुक्त बस्ती स्थानान्तरण तथा पूर्वाधार विकासका लागि चालु आवका लागि ९० लाख रुपियाँ विनियोजन गरेको हो । उक्त रकमले जोखिममा रहेका २० घर स्थानान्तरणका लागि जग्गा सम्याउने, सडक बनाउनेलगायतका पूर्वाधारमा काम गर्ने छ ।
यस्तै प्रदेश सरकारले जिल्लाको चौँरीदेउराली गाउँपालिका–६ को जोखिमयुक्त बस्ती स्थानान्तरण गर्नका लागिसमेत ९० लाख रुपियाँ विनियोजन गरेको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । उक्त वडामा ५३ घर स्थानान्तरण गर्नुपर्ने भएको हो ।
प्रदेश सरकारले चालु आवका लागि जिल्लाको महाभारत गाउँपालिकामा आकस्मिक आश्रयस्थल निर्माण गर्नका लागि ४० लाख रुपियाँ विनियोजन गरेको भवन कार्यालयले जनाएको छ । कार्यालयले चालु आवमा कार्यालयको कार्यक्षेत्रसँग सम्बन्धित विपत्मा क्षतिग्रस्त संरचनाको मर्मत सुधार तथा संरक्षणका लागि एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।