विजयकुमार साह
ढल्केबर, भदौ १ गते । धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतोले साउनको अन्त्यतिर बल्लतल्ल आफ्नो एक बिघा खेतमा धान रोपाइँ सिध्याउनुभएको छ । अघिल्लो वर्ष असार महिनाभित्रै धान रोपेर सिध्याए पनि यस वर्ष ढिलो गरी आकासे पानी परेकाले रोपाइँ ढिलो भयो । महतोका अनुसार समयमा पर्याप्त वर्षा नहुँदा र सिँचाइको सुविधा नपाउँदा रोपाइँ ढिलो भएको हो ।
उहाँले भन्नुभयो, “साउनको दोस्रो सातासम्म एक बिघा खेतमध्ये भूमिगत पानीको सहायताले पाँच/छ कट्ठा जमिनमा रोपाइँ भएको थियो । त्यसपछि निरन्तर वर्षा भएपछि मात्रै रोपाइँले गति लिएको हो । यदि सिँचाइको सुविधा उपलब्ध भएको भए असारभित्रै रोपाइँ सकिन्थ्यो ।”
गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाका किसान रामपुकार यादवले लामो खडेरीपछि साउन तेस्रो सातादेखि खेत हिल्याउने वर्षा भए पनि बिउको अभावले रोपाइँ प्रभावित भएको बताउनुभयो । यसपालि खडेरीले ब्याडमै बिउ सुकेकाले रोपाइँका बेला बिउको अभाव भएको उहाँको भनाइ छ ।
किसान यादवले एक दुई जना किसानको मात्र समस्या नभएर समग्र मधेश प्रदेशको अवस्था यस्तै भएको बताउनुभयो । यहाँ असारको सुरुवातदेखि वर्षा हुन छोडेपछि भूमिगत पानीको प्रयोग गरेर जेनतेन रोपिसकेको रोपो सुक्न थालेको थियो । रोप्न तयारी अवस्थामा राखिएका धानका बिउ (बेर्ना) समेत सुक्न थालेका थियो । पछिल्लो वर्षाले किसानलाई ठुलो राहत पुगेको हो । यस प्रदेशमा अधिकांश किसान आकासे पानीको भरमा धान रोपाइँ गर्न बाध्य छन् ।
कृषि विकास निर्देशनालय मधेश प्रदेशका बाली संरक्षण अधिकृत सुदीप चौधरीले साउनमा रोपाइँको दरमा उल्लेख्य वृद्धि भएको दाबी गर्नुभयो । निर्देशनालयको तथ्याङ्क अनुसार मधेशमा करिब ८६.३५ प्रतिशत धान रोपाइँ भएको छ । तथ्याङ्क अनुसार मधेश प्रदेशमा कुल पाँच लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिन छ, जसमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धान रोपाइँ हुने जमिन छ । त्यसमध्ये साउन मसान्तसम्ममा तीन लाख १९ हजार ६२६ हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।
सबैभन्दा बढी रोपाइँ पर्सा र बारामा ९८ प्रतिशत भएको छ भने सबैभन्दा कम सप्तरीमा ७५ प्रतिशत भएको छ । रौतहटमा ९० प्रतिशत, सर्लाहीमा ९०.३८ प्रतिशत, महोत्तरीमा ७५.३४ प्रतिशत सिरहामा ८८.१७ प्रतिशत र धनुषामा ८२ प्रतिशत रोपाइँ भएको तथ्याङ्कले देखाएको छ ।
बाली संरक्षण अधिकृत चौधरीका अनुसार नहर, कुलोपैनी, स्यालो ट्युबवेल, डिप बोरिङ र छिटफुट वर्षाले साउन तेस्रो सातासम्म ५७.२७ प्रतिशत हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको थियो । त्यसपछि निरन्तरको वर्षाले धान रोपाइँमा वृद्धि भएको हो ।
यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले प्रदेशमा गत वर्षको तुलनामा १० प्रतिशत धान रोपाइँ कम भएको बताउनुभयो । गत वर्ष यस अवधिसम्म ९५ प्रतिशत धान रोपाइँ भएको बताउँदै उहाँले समग्रमा यस वर्ष करिब २० प्रतिशत धान उत्पादन घट्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “धान रोपाइँको मुख्य समय असार महिना हो । यस अवधिमा रोपिएको धानको उत्पादन राम्रो हुन्छ । साउनमा रोपिएको धानको उत्पादन कम हुन्छ ।”
जल सङ्कट टार्न सरकार सक्रिय
अन्न भण्डारका रूपमा परिचित मधेश प्रदेशमा लामो खडेरीका कारण जल सङ्कट उत्पन्न भएको थियो । सोही कारण मधेश सरकारले मधेश प्रदेशलाई सुक्खाग्रस्त र सङ्घीय सरकारले तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । सङ्घ सरकारले सिँचाइ तथा खानेपानी समस्याको समाधानका लागि मधेश प्रदेशमा तत्काल पाँच सय डिप बोरिङ गाड्ने योजना अघि सारेको छ । त्यस्तै प्रदेश सरकारले एक हजार चार वटा स्यालो ट्युबवेल गाड्ने योजना अघि बढाएको छ ।
यसैबिच मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवसहित उच्चस्तरीय टोलीले सिन्धुलीको खुर्कोटमा निर्माण भइरहेको मधेश प्रदेशको जीवनदायी परियोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजनाको स्थलगत निरीक्षण गर्नुभयो ।
उहाँहरूले निर्माणको अवस्थाबारे जानकारी लिन स्थलगत अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा मुख्यमन्त्री सिंहले योजनाको बाँकी काम समयभित्र सम्पन्न गर्न ठेकेदार पक्षलाई निर्देशन दिनुभएको छ । सो परियोजनाबाट मधेशको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने सरकारको लक्ष्य छ ।