कपिल ज्ञवाली
सिद्धार्थनगर, साउन ३१ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्धनका लागि नयाँ पुस्ता पनि अघि बढ्नुपर्ने बताउनुभएको छ । कला संस्कृति जगेर्नाका लागि पुस्तान्तरण अपरिहार्य रहेको बताउनुभएको छ ।
अर्घाखाँची–रूपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा आयोजना गरेको रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मौलिक परम्परा र संस्कृतिहरू क्रमश: ओझेलमा पर्दै गएकाले त्यसलाई जगेर्ना गर्न सबैले उत्साहपूर्वक जुट्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
‘‘हाम्रा मौलिक परम्परा र संस्कृतिहरू विस्तारै ओझेलमा पर्दै गइरहेका छन् । वर्षौंदेखि मनाउँदै आएका परम्पराहरू पुस्तान्तरण हुन जरुरी छ,’’ उहाँले भन्नुभयो, ‘‘युवा पुस्तालाई परम्परा र संस्कृति हस्तान्तरण गर्दै जगेर्ना गर्न आवश्यक छ ।’’
हरितालिका तीजको अवसरमा आमा तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले पर्व उत्साह र उल्लासका साथ मनाउनुपर्ने तर पर्वका नाममा विकृतिलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिनुभयो ।
चाडपर्व मनाउने नाममा विकृतिलाई प्रोत्साहन गर्ने प्रवृत्ति बढ्दै छ, यस्ता विकृतिहरूलाइ निरुत्साहित गर्नुपर्ने साझा जिम्मेवारी हो । उहाँले भन्नुभयो, ‘‘ मौलिक कला, संस्कृतिको संरक्षण गर्दै अघि बढ्न आवश्यक छ ।’’
उहाँले यस प्रकारका कार्यक्रमलाइ निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा रामप्रसाद आचार्य, दुर्गा मन्दिरका अध्यक्ष अर्जुन कुँवर लगायतले बोल्नुभएको थियो ।