• २ भदौ २०८२, सोमबार

सीताकुण्डमा भक्तजनको भिड

blog

सीताकुण्ड मन्दिर दर्शनका लागि पुगेका भक्तजनहरू । तस्बिर : गोरखापत्र

इमान सिं राना

रामपुर (पाल्पा), साउन ३१ गते । कृष्ण जन्माष्टमीको अवसरमा रामपुर नगरपालिकाको सीताकुण्डमा शनिबार हजारौं श्रद्धालु भक्तजनहरू पुगेका छन् । पौराणिक एवं धार्मिक स्थल सीताकुण्डमा स्नान गर्न तथा पूजा गर्नका लागि भक्तजन शनिबार बिहानै देखि पुगेका थिए ।

त्रेतायुगमा भगवान् रामचन्द्र वनबासको क्रममा रामपुर क्षेत्रमा घुम्न आएको र सीता रजस्वाला भएको समयमा भगवान् रामले यस ठाउँमा वाण प्रहार गरी पानी निकालेर नुहाउने व्यवस्था मिलाएको भन्ने जनविश्वास रहेको छ । 

जमिन मुनिबाट कुण्डमा सदाबहार पानी आइरहेको हुन्छ । कुण्डमा नुहाई पूजा गर्दा मोक्ष्य प्राप्ति हुने र मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धर्मिक विश्वास रहेको ९१ वर्षीय ज्येष्ठ नागरिक जैनबहादुर मल्लले बताउनुभयो । मन्दिरमा सदियौं देखि निरन्तर रूपमा पूजा हुँदै आएको छ ।

विगतमा स्थानीय र सीताकुण्ड आसपासका स्थानीयले मात्र पूजा गर्दै आए पनि पछिल्लो समय अन्यत्रबाट पनि पूजा गर्न तथा कुण्ड अवलोकन गर्न आउने गरेका छन् । कृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहँदै आएको छ । 

कुण्डको प्रचार प्रसार तथा सडक यातायातको पहुँचसँगै बर्सेनि मन्दिर दर्शन गर्न आउनेहरूको सङ्ख्या वृद्धि हुँदै आएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिर्थबहादुर थापाले जानकारी दिनुभयो । रामपुर ३ र ४ का स्थानीयको समन्वयले मन्दिरको दैनिक पूजा व्यवस्थापन गर्दै आएको थापाले बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सीताकुण्ड नगरपालिकाको धार्मिक एवं ऐतिहासिक स्थल रहेको बताउनुभयो । सीताकुण्डको संरक्षण र प्रवर्धनका लागि नगरपालिकाले पहल गर्दै आइरहेको जानकारी दिनुभयो । 

कृष्ण जन्माष्टमीको अवसरमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, रूपन्देही लगायतका स्थानबाट पुगेका थिए । मन्दिरमा बिहान ७ बजे देखि नै भजन कीर्तनसहित पूजा सुरु गरिएको थियो ।

यस कुण्डको विशेषताको रूपमा विश्वमै फरक किसिमको विशेष धान समेत रहेको छ । सो धान कुण्ड आफै हुर्किने र झर्ने गर्दछ । जन्मअष्टमीको दिन भक्तजनहरूले कालीनदीको पानी सीताकुण्डमा ल्याई मिसाउने, कुण्डको पानी कालीगण्डकीमा मिसाउने गर्दछन् । साथै यहाँको कुण्डमा स्नान गर्ने र सीता कुण्डमा रहेको विशेष किसिमको धान गोड्ने गर्छन् ।

सीताकुण्डमा कृष्ण जन्माष्टमी, तिज, विवाह पञ्चमी र रामनवमीमा भक्तजनहरूको विशेष उपस्थिति रहने गर्दछ । अन्य समयमा पनि कुण्ड अवलोकन र मन्दिर दर्शनका लागि विभिन्न स्थान बाट दैनिक रूपमा पुग्ने गर्दछन् ।