• ४ जेठ २०८१, शुक्रबार

मनसुनसम्बन्धी कार्ययोजना लागू

blog

अमरगढी नगरपालिकामा स्थापना गरिएको आपत्कालीन कार्य सञ्चालन केन्द्र . स्बिर : पुष्कर भण्डारी

धनगढी, असार १० गते । सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ लागू गरेको छ । प्रदेशमा बाढी, पहिरो, चट्याङ, डुबानलगायतका विपत्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रदेश सरकारले सो कार्ययोजना लागू गरेको हो । बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको विपत् व्यवस्थापन परिषद्को बैठकले सो कार्ययोजना पारित गरेको हो । 

कार्ययोजनामा प्रदेशमा यस वर्षको मनसुनका कारण कुल दुई लाख ६३ हजार ३१५ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ । यस वर्ष कैलाली र कञ्चनपुर जिल्लामा बाढीका कारण कुल दुई लाख तीन हजार ६९५ जनसङ्ख्या तथा अन्य सात जिल्लामा पहिरोका कारण ५९ हजार सात सय २० जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ । कैलाली, कञ्चनपुरको दक्षिणी क्षेत्र तथा बझाङ, बाजुरा र दार्चुला जिल्लाको उत्तरी भेगमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ भने अन्य स्थानमा ३५ देखि ५५ प्रतिशत सम्भावना रहेको पाइन्छ ।