• १५ साउन २०८२, बिहिबार

एपिएफ र श्री भगवतीको बराबरी

blog

एपिएफ टोली । तस्बिर : एन्फा

काठमाडौँ, साउन १४ गते । विभागीय टोली एपिएफ क्लबले एन्फा यु–१६ युथ लिगमा श्री भगवती क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

एन्फा मैदान सातदोवाटोमा बुधबार भएको खेलमा एपिएफले श्री भगवतीसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । एपिएफका लागि आयुश सरकारले ४०औँ र पुजन ढकालले ८४औँ मिनेटमा गोल गर्नुभयो ।

श्री भगवतीका लागि सविर श्रेष्ठले ८९औँ र अनिल परियारले इन्जुरी समयमा गोल गर्नुभयो । अन्तिम सयमा सम्हालिन नसक्दा एपिएफ अङ्क बाँड्न बाध्य भएको थियो ।

बराबरीसँगै एपिएफले १० खेलबाट १६ अङ्क बनाएको छ । श्री भगवतीको समान खेलबाट १० अङ्क छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता छ ।

लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।