• १५ साउन २०८२, बिहिबार

एनएसजेएफ स्पोर्टस् अवार्ड पोखरामा हुने

blog

पोखरामा आयोजना हुने पल्सर स्पोर्टस् अवार्ड कार्यक्रममा सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको सार्वजनिक गर्दै पोखरा महानगपालिका प्रमुख धनराज आचार्य र नीरञ्जन अधिकारी । तस्बिरः माधवप्रसाद बराल

माधवप्रसाद बराल

माछापुच्छरे (कास्की), साउन १४ गते । नेपाल खेलकुद पत्रकार मञ्चले विगत २१ वर्षदेखि काठमाडौँ गर्दैआएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२ औँ संस्करण पोखरामा हुने भएको छ । 

मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा अवार्ड कार्यक्रम हुने छ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ मा विगत वर्षहरूमा झै यो वर्ष पनि १० विधामा खेलाडी तथा खेलकर्मीहरूलाई सम्मान गरिने छ ।

उहाँका अनुसार वर्ष उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक,  पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसिएन स्पोर्टस् जर्नालिस्ट अवार्ड प्रदान गरिने छ । 

उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले जनही पल्सर मोटरसाइकल र अन्य विधाका विजेताले एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।

खेलप्रेमीको मतका आधारमा विजेताको चयन हुने पिपल्स च्वाइस अवार्डका लागि पाँच उत्कृष्ट खेलाडीको मनोनयन मञ्चले केही दिनमा सार्वजनिक गर्नेछ  । 

त्यसैगरी उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधामा पनि पाँच–पाँच जनाको मनोनयन सार्वजनिक गरिने छ । अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको पल्सर मोटरसाइकल रहेको छ ।

महानगरपालिका र मञ्चबिच सम्मौता 

स्पोर्टस् अवार्ड सफल बनाउन पोखरा महानगरपालिका प्रवर्धकको रूपमा रहेको छ । पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले सम्मौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्मौताअनुसार अवार्डको प्रवर्धकको भूमिका पोखरा महानगरपालिकाले गर्नेछ । 

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्पोर्टस् अवार्डले पोखरा भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्ने बताउनुभयो । पर्यटनका लागि खेल क्षेत्र महत्त्वपूर्ण भएकाले अवार्ड कार्यक्रममा सहकार्य गरेको उहाँको भनाइ छ ।