निराजन परियार
चौमाला (कैलाली) साउन १४ गते । कैलालीको गौरीगङ्गा नगरपालिका–६, बनबेहडा, विजयनगर टोलका २८ वर्षीय टेकबहादुर रोकाया मृत अवस्थामा फेला परेका छन् ।
गत शनिबार साउन १० गते देखिनै सम्पर्कविहीन रहेका रोकाया मङ्गलबार दिउँसो चुरे गाउँपालिका–४, सिताखाली शिविरमाथिको खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
रोकाया बाँसका तामा खोज्न जाने क्रममा हराएका थिए । हराएपछि परिवारले खोजी गरिदिन आग्रह गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो । अन्य साथीहरूसँगै घरबाट निस्किएका रोकायालाई बाख्रा चराउने क्रममा स्थानीय रमेश राजीले सिताखाली खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय चौमालाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र बलायरका अनुसार शव खोलामा घोप्टो परेको अवस्थामा, सडिसकेको अवस्थामा फेला परेको थियो । वर्षा र पहिरोको जोखिम भएको समयमा हराएका कारण खोलामा आएको बाढीले बगाएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
मृत्यु प्राकृतिक कारण वा अन्य कारणले भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा पठाइएको छ ।