• १५ साउन २०८२, बिहिबार

पहिरोको पीडा : मुख्य सडक पचपन्न पटक अवरुद्ध

blog

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), साउन १४ गते । दुई दिनको वर्षाले मङ्गलबार कालीगण्डकी कोरिडोर र रिडी–रुद्रवेणी सडक दुई स्थानमा अवरुद्ध हुँदा यात्रामा निस्किएका नागरिकले सास्ती खेप्नु पर्‍यो । जिल्लाका मुख्य सडक पटक पटक अवरुद्ध हुँदा उनीहरूले यस्तै सास्ती खेप्दै आएका छन् । 

जिल्लाका मुख्य सडक एक वर्षमा सुक्खा पहिरोका कारण ११ पटक र वर्षाका कारण पहिरो जाँदा ५५ पटकसम्म अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको योजना कालीगण्डकी कोरिडोरले गुल्मीका रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी गाउँपालिका छोएको छ । यो सडक अवरुद्ध हुन वर्षा चाहिँदैन । हिउँदमा सुक्खा पहिरो नै धेरै पटक गएको छ । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूका अनुसार कालीगण्डकी कोरिडोर एक वर्षको अवधिमा सुक्खा पहिरो र वर्षाका कारण अवरुद्ध बन्यो । नेपाली सेनाले बम प्रयोग गरेर निर्माण गरेको थियो । कालीगण्डकी गाउँपालिकाका प्रवक्ता रेसमराज न्यौपानेले सामान्य कारण बम ब्लास्ट भए पनि भूगोल नै कमजोर हुँदा पहिरो धेरै जाने गरेको बताउनुभयो । 


कोरिडोरपछि धेरै पटक अवरुद्ध हुने सडक रिडी–रुद्रवेणी–वामी सडक हो । यो ठाउँमा माथिबाट लेदो बगेर आउने भएकाले २०७९ साल कात्तिक १ गते मुसीकोट नगरपालिका–६, भुवाचिदीका नरबहादुर गुरुङको जिप बगेको थियो । डहरेखोलामै पहिरोसहितको बाढीले बुटवलदेखि बागलुङको हटियातर्फ जाँदै गरेको मालवाहक ट्रक पनि बगेको थियो । स्थानीयका अनुसार डहरेखोलामा पहिरो खस्न थालेको २०३२ सालबाट हो । रिडी–रुद्रवेणी–वामीटक्सार सडक २०३५ सालमा विस्तार भएको हो । डहरेको सास्ती ४५ वर्ष खेपेका स्थानीयले अहिले पुल बन्ने विश्वास गरेका थिए । चन्द्रकोट गाउँपालिका–८ का ४८ वर्षीय दीपक खत्रीले यो बर्सातसम्म काम नसकिएकाले जोखिम उस्तै रहेको बताउनुभयो । रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डका चार पुल प्याकेजमा निर्माण हुँदै छन् । 

एउटै ठेक्कामार्फत डहरेसहित नादेवा, भार्से र गिदीखोलामा पुल निर्माणको सम्झौता भएको छ । एक वर्षमा रिडी–रुद्रवेणी–वामी सडकमा तीन सुक्खा र १५ बर्सातका कारण पहिरो खस्दा १८ पटक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सदरमुकाम जोड्ने रिडी–तम्घास सडक पनि सुक्खा र बर्सातको पहिरोका कारण सात पटक अवरुद्ध बनेको छ । 

गुल्मीको जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका दुई सय ठाउँ बाढी र पहिरोको जोखिममा छन् । अहिलेको बर्सातमा २२ हजार नागरिक प्रभावित हुने अनुमान जिल्ला विपत् व्यवस्थापन समिति गुल्मीको रहेको छ । 

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बर्सात सुरु भएसँगै हुन सक्ने बाढी र पहिरोमा तत्काल उद्धार गर्ने उद्देश्यले चन्द्रकोट गाउँपालिका–८, मजुवाको मानका टीकाराम बहुमुखी क्याम्पसमा सशस्त्र प्रहरीको क्याम्प स्थापना गरिएको हो । 

सशस्त्र प्रहरी बल ३७ नं. गुल्म, गुल्मीद्वारा सशस्त्र प्रहरी नायब निरीक्षक टोपबहादुर कुमालको कमान्डमा २० जनाको टोली क्याम्पमा खटिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले तत्काल सडक सञ्चालन, बाढी र पहिरोको जोखिम स्थान पहिचान र सतर्कतासहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रको टोलीलाई तैनाथी अवस्थामा राखिएको बताउनुभयो ।