• १५ साउन २०८२, बिहिबार

भूकम्प प्रभावितको बिचल्ली

blog

घर नहुँदा त्रिपालमा बसेका भूकम्पपीडित । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, साउन १४ गते । झन्डै दुई वर्षदेखि त्रिपालमा बस्दै आएका जाजरकोटका भूकम्प प्रभावित बर्खाको समयमा बिचल्लीमा परेका छन् । सदरमुकामस्थित भेरी नगरपालिका–२, ठाँटी स्वास्थ्य सेवा कार्यालयको क्षेत्रमा बसेका केही भूकम्प प्रभावित त्रिपाल चुहिन थालेपछि बिचल्लीमा परेका हुन् । 

भेरी नगरपालिका–२, पोखराका नरपति गुरुङ र प्रेमबहादुर गुरुङ भूकम्पपछि त्रिपालमुनि बस्दै आउनुभएको छ । उहाँहरूले ज्याला मजदुरीबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । दुई छोरीसहित चार जनाको परिवार ओत लाग्ने आवास नहुँदा बर्खाको समयमा त्रिपालमुनिको बसाइ दयनीय छ । भाडामा बस्दै आएको घर भूकम्पले क्षतिग्रस्त गरेपछि स्वास्थ्य सेवा कार्यालयको क्षेत्रमा त्रिपाल टाँगेर मकै पोलेर, ज्याला मजदुरी गरी बिहानबेलुकाको छाक जुटाउने गरेको नरपति गुरुङले बताउनुभयो । उहाँका अनुसार घरमा जग्गाजमिन नदिएपछि जाजरकोटमै फर्किएर गिट्टी, ज्याला मजदुरीबाट कमाएको रकमले खर्चको जोहो गरेको उहाँको भनाइ छ ।

भूकम्पपछि त्रिपालमुनिको बसाइका कारण आफूलाई पेट र दम, प्रेमबहादुरलाई मुटु र प्रेसरको रोगले थला परेपछि पीडामाथि पीडा थपिएको छ । मुटु र प्रेसरसम्बन्धी रोगले काम गर्न नसक्ने भएपछि परिवारको छाक जुटाउन भेरी नगरपालिका–१, कालेगाउँ, रावतगाउँ, पिपे, कोलचौरबाट खरिद गरी ल्याएको मकै पोलेर छाक टारेको उहाँको भनाइ छ । बर्खाको समय दुई जना दीर्घरोगी त्रिपालमुनिको बसाइ सर्पदंशको डर त्रासले पनि निदाउन नसकिने उहाँको भनाइ छ । नरपतिका अनुसार भूकम्पपछि त्रिपालमुनिको बसाइले ज्याल मजदुरी गर्ने दुई जना दीर्घरोगले ग्रसित भएपछि खानाको समस्या परेको गुनासो गर्नुभयो । दैनिक जीवनमा चाहिने आवश्यक सामग्री जुटाउन नसक्ने दुवै दीर्घरोगले थला परेपछि चिन्ता बढेको छ । दुवैले दीर्घरोगको औषधी उपचार गर्ने आर्थिक अवस्था नभएपछि भेरी नगरपालिका–३ वडा कार्यालयबाट सिफारिस लिएर औषधी उपचार निःशुल्क औषधी पाउने गरेका बताउनुभयो ।