मुसीकोट समाचारदाता
रुकुमपश्चिम, साउन १४ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा रहेको चौरजहारी अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवाविन्दुबाट नहटाउन आग्रह गरिएको छ । २०७४ सालबाट स्वास्थ्य बिमा कार्यक्रम लागु भएको यस अस्पतालबाट प्रथम सेवाविन्दुको सुविधा नहटाउन आग्रह गरिएको हो ।
रुकुमपश्चिम र सल्यानका दुई स्थानीय तह र एक राजनीतिक दलले औपचारिक रूपमा पत्राचारसमेत गरेका छन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिका र सल्यानको कुमाख गाउँपालिकाले स्वास्थ्य बिमा बोर्डसमक्ष र नेपाली कांग्रेस चौरजहारीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमक्ष यस्तो आग्रह गरेका हुन् । सरकारले साउन १ बाट सरकारी अस्पतालमा मात्र स्वास्थ्य बिमाको सुविधा दिने निर्णय गरेपछि चौरजहारी अस्पतालमा प्रथम सेवाविन्दु कायम गरेर स्वास्थ्य बिमा गरेका ३८ हजार बिमित मारमा परेपछि यस्तो आग्रह गरिएको हो ।
रुकुमपश्चिम, सल्यान, जाजरकोट, डोल्पा, रुकुमपूर्वसम्मका नागरिकले सेवा पाइरहेको अवस्थामा चौरजहारी अस्पताललाई प्रथम सेवाविन्दुबाट हटाउने निर्णय अन्यायपूर्ण भएको भन्दै प्रथम सेवाविन्दु कायम गरिदिन आग्रह गरिएको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले जानकारी दिनुभयो । चौरजहारी नगरपालिका–१० मा रहेको सहिद स्मृति नगर अस्पताल स्वास्थ्य बिमाको सेवा प्रदायक संस्था रहेकोमा उक्त ठाउँ दुर्गममा रहेको, पूर्वाधार तथा जनशक्तिको अभावका कारण सहज सेवा उपलब्ध गराउने अवस्था नरहेकाले चौरजहारी अस्पताललाई नै प्रथम सेवाविन्दुबाट कायम गर्न अत्यावश्यक रहेको नगरप्रमुख पुष्प बादीले उल्लेख गर्नुभयो ।
चौरजहारी अस्पताललाई प्रथम सेवाविन्दुबाट हटाई प्रेषण केन्द्रका रूपमा मात्र कायम राखिएकाले छिमेकी जिल्लाका सर्वसाधारणसमेत मारमा परेको सल्यानको कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीले बताउनुभयो । उहाँले चौरजहारी अस्पताल तीन जिल्लाको केन्द्रमा रहेको र वार्षिक एक लाखभन्दा बढी बिरामीले सेवा पाइरहेकाले उक्त निर्णय पुनर्विचार गर्न आवश्यक रहेको जनाउनुभयो ।
नेपाली कांग्रेस चौरजहारीका नगर सभापति प्रेमबहादुर ओलीले आमनागरिकको स्वास्थ्य उपचारको दायित्व सरकारले लिनुपर्नेमा दिइएको सुविधा कटौती गर्दा दैनिक सयौँ बिरामीमा अन्योल सिर्जना भएको बताउनुभयो । नागरिकको मर्का बुझेर स्वास्थ्य बिमा सेवाको प्रथम सेवाविन्दु यहाँको चौरजहारी अस्पताललाई कायम गर्न आवश्यक रहेको उहाँको भनाइ छ । यसको विकल्पका रूपमा रहेका सरकारी अस्पतालमा जनशक्ति र स्वास्थ्य उपकरण अभाव रहेको, भौगोलिक रूपले टाढाको दुरीमा रहेकाले बिमितहरू थप समस्यामा रहेको बताइएको छ । गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्दै आएकाले चौरजहारी अस्पताललाई प्रथम सेवाविन्दुका रूपमा कायम गर्न नसके उपचार गर्न निकै समस्या हुने अवस्था रहेको स्थानीय तह र सरोकारवाला निकायले जनाएका छन् ।